images
images

गुणस्तरीय स्वास्थ्य सेवाको दायित्व सरकारको हो : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान निरीक्षण गर्दै मुलुकका लागि आवश्यक दक्ष जनशक्ति तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित चिकित्सक नर्स, प्रयोगशालाविद्लगायतका स्वास्थ्यकर्मीहरू उत्पादनमा जोड दिएका छन् ।

उनले निजी क्षेत्रबाट सञ्स्वास्थ्य सेवा अत्यधिक महँगो भएकाले त्यसमा आम जनताको सहज पहुँच हुन नसकेको भन्दै सरकारी र सामुदायिकस्तरमा स्वास्थ्य केन्द्र तथा अस्पतालको विकास गरी त्यहाँबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था मिलाउनु राज्यको प्रमुख दायित्व भएको बताए ।

स्वास्थ्य सेवामा नागरिकको सहज र सर्वसुलभ पहुँच स्थापित गर्न वर्तमान सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको उनको भनाइ थियो । कार्यवाहक प्रधानमन्त्री खड्काले सार्वजनिक स्वास्थ्य संस्था सबल र सुदृढ भएमात्र सर्वसाधारण नेपाली दिदीबहिनी तथा दाजुभाइले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड–१९ तथा डेङ्गु सङ्क्रमणको समयमा स्पष्ट भइसकेको बताए ।

यस कुरालाई हृदयङ्गम गरी सरकारले सबै सार्वजनिक अस्पतालको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको उनले उल्लेख गरे । यस संस्थानबाट उत्पादन हुँदै गरेका सक्षम चिकित्सा जनशक्तिलाई अझ बढी प्रभावकारीरूपमा अगाडि बढाउन चिकित्सा जनशक्तिको राष्ट्रिय आवश्यकतालाई मनन गरी आगामी दिनमा पाठ्यक्रमअनुसारको शैक्षिक कार्यक्रम, समयानुकूल दक्ष जनशक्तिको विकास, सुदृढीकरण र आधुनिकीकरणलाई प्राथमिकतामा राखी थप शैक्षिक कार्यक्रम सञ्चालन गर्दै अघि बढ्न म सम्पूर्ण संस्थान परिवारलाई आग्रह गर्न चाहन्छु, कार्यवाहक प्रधानमन्त्री खड्काले भने ।

संस्थानमा शिक्षण तथा व्यवस्थापनमा लागि अहोरात्र खटिनुहुने शिक्षकवर्ग, सकलदर्जालगायत कर्मचारीको समर्पण र सामूहिक प्रयासले नै आज यो संस्थानले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको उनको भनाइ थियो ।

“तपाईँहरूको निरन्तर परिश्रमकै कारण यहाँ अध्ययनरत विद्यार्थीले गुणस्तरीय चिकित्सा शिक्षा प्राप्त गरिरहेका छन् । तसर्थ यहाँहरू सबैले पुर्याउनुभएको योगदान ज्यादै नै प्रशसंनीय छ र यसका लागि म सबैलाई हार्दिक धन्यवाद दिँदै यो टिमस्प्रिटलाई आगामी दिनमा पनि निरन्तरता दिन हार्दिक आग्रह गर्न चाहन्छु”, उनले भने ।