गाई पल्टियोस् वा त्रिशुल सिक्का त उही हो नी !



गाई पल्टियोस् वा त्रिशुल सिक्काको दाम उत्तिनै हुन्छ। यो सबैले गम्भीरतापूर्वक सोच्ने विषय हो कि नेपालमा नेपाली कांग्रेस र नेकपा बीचको भिन्नता हराउँदै गयो ।

अबिसेक डाँगी

हिजो यी दुई फरक विचारका पार्टी मानिन्थे । आज भिन्नता देखिन्न । शास्त्रीय सिद्धान्तमा केही भिन्नता होला । ऐतिहासिक पृष्ठभूमिमा केही भिन्नता होला । तर व्यवहारमा खै भिन्नता ? शासकीय प्रणालीमा खै भिन्नता ? राज्य सञ्चालनको शैली र नीति तथा कार्यक्रममा खै भिन्नता ?

यदि सबै कुरा उस्तै छ भने दुईवटा पार्टी किन चाहियो । हिजो हामीले त्यही भनेका थियौं– एमाले र माओवादीका सन्दर्भमा । ती मिले हुन्छ भनेका थियौं । मिले पनि । आज नेपालमा कांग्रेस र कम्युनिष्ट एउटै सिक्काका दुई पाटा भएका छन् । गाई पल्टिए पनि के ? त्रिशुल पल्टिए पनि के ? सिक्काको दाम त उत्तिनै रहने हो ।

कांग्रेसले जिते पनि के ? कम्युनिष्टले जिते पनि के ? देशको हालत त उस्तै रहने हो । अब कांग्रेस र नेकपा पनि मिले हुन्छ । अब यी पार्टीहरु बीचको भिन्नता समाप्त भइसक्यो ।

अब फरक प्रकारको प्रतिस्पर्धा र सीमाकरण हुनुपर्दछ । कांग्रेस–कम्युनिष्टको एउटा ध्रुव– पुरानो ध्रुव । नयाँ शक्ति लगायत नयाँ चाहनेहरुको एउटा ध्रुव– नयाँ ध्रुव । अबको राजनीतिक प्रतिस्पर्धा पुरानो र नयाँको बीचमा हुनुपर्दछ । अब विस्तारै त्यही हुन्छ ।

यस्तो समीकरण निर्माण नगरिकन देशले गति नलिने भो । विगत ३० वर्ष कांग्रेस र कम्युनिष्टहरुको शासनकाल हिसाब गर्ने हो भने झण्डै बराबर हुन्छ । देशको हालत जहिँको त्यही छ । देशको प्रतिव्यक्ति आय १००० डलर मुस्किलले पुगेको छ । कुल उपभोगको ९४% आयात हुन्छ । ४०% परिवारको चुल्हो रेमिटेन्सले बल्छ ।

अल्पविकसित देशको सूचीमा पनि पुच्छारतिर छौं हामी । भ्रष्टाचार इन्डेक्समा नेपालको बेहाल छ । राजस्वले चालू खर्च धान्न छोडेको छ । करिब १३% बजेट वैदेशिक ऋणको साँवा ब्याज भुक्तानीमा खर्च हुन्छ । देशको यो हालत रहुञ्जेल कांग्रेसले जिते के हुन्छ ? कम्युनिष्टले जिते के हुन्छ ?

ताजा अपडेट