images
images

भ्रष्टाचारमा तानिएका नेताहरूको प्रतिरक्षा राजनीतिक दलहरूले गर्नु हुँदैन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरूको प्रतिरक्षा राजनीतिक दलहरूले गर्न नहुने बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फसेका कांग्रेस नेता बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने दवाव बढिरहेका बेला उनले त्यस्ता गतिविधिमा संलग्न कुनै पनि नेतालाई पार्टीले प्रतिरक्षा गर्न नहुने आफ्नो अडान रहेको बताए ।

शनिबार काठमाडांैमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले कांग्रेस, एमाले र माओवादी केन्द्रजस्ता राजनीतिक पार्टीले आफ्नो पार्टीको अमूक नेताहरूलाई निर्दोष सावित गर्ने प्रयास गर्न नहुने बताए ।

महामन्त्री शर्माले राजनीतिक दलहरूले भ्रष्टाचारको आरोपमा परेका नेताहरूलाई प्रतिरक्षा नगरी स्वतन्त्र ढङ्गले सम्बन्धित निकायलाई छानबिन गर्न दिने भनेको मुलुकको सुशासनका लागि महत्त्वपूर्ण कदम हुने पनि स्मरण गराए ।

मुलुकको शासन र शासकीय संरचना सुधारका लागि राष्ट्रपति दोहोर्‍याएर नहुने, प्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न नहुने व्यवस्था गर्नुपर्ने प्रस्ताव समेत महामन्त्री शर्माले राखे । त्यसो गरियो भने त्यसले शासन व्यवस्थामा सुधारका प्रक्रियालाई अघि बढाउने र सक्षमहरूले मुलुकको जिम्मेवारी सम्हाल्दै अघि बढ्ने अवस्था आउने उनको भनाई थियो ।

‘एक पटक राष्ट्रपति भएपछि अब दोहोर्‍याएर नहुने सिस्टममा जाऔँ । दुई पटक प्रधानमन्त्री भएपछि तीन पटक नपाउने बनाऔँ । ३ पटक भएपछि चार पटक नपाउने बनाऔँ । ४ पटक सांसद भएपछि बिदा लिने सिस्टम बनाऔँ’ शर्माले भने, ‘जतिसुकै योग्य व्यक्ति भए पनि यो भन्दा बढी जिम्मेवारी नलिऔँ । व्यक्ति जतिसुकै योग्य होस् । यसो गरेर मात्रै शासक र शासन व्यवस्थालाई सुधार गर्न जरुरी छ ।’

उनले तीन पटकभन्दा बढी मन्त्री हुन नपाउने, चार पटकभन्दा बढी सांसद बन्न नपाउने व्यवस्था पनि मुलुकको शासन सुधारका लागि अति आवश्यक रहेको दाबी गरे ।