अन्तर्राष्ट्रिय विमानस्थलमा ३० वर्ष सञ्चालनकाे प्रस्ताव सहित कतारको चासो !


काठमाडाैं । बारामा निर्माण हुन लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कतारले चासो देखाएको छ। कतारको चासोसँगै सरकारले कतारका लागि नेपालस्थित राजदूतावासमार्फत सूचना आदान-प्रदान हुने थालेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटा पनि विमानस्थल निर्माणमा कतारले चासो देखाएको स्वीकार गर्छन्। ‘सरकार पनि कतारको लागि नेपालका राजदूतसँग सूचना आदान-प्रदान भएको विषयमा जानकार छ’, सचिव देवकोटाले भने, ‘राजदूतावासमार्फत विमानस्थल निर्माणको विषयमा द्विपक्षीय सूचना आदानप्रदान पनि भइरहेको छ।’

कतारले पनि कम्तीमा ३० वर्षको लागि निजगढ विमानस्थल निर्माण र सञ्चालन गर्ने गरी काम गर्ने प्रस्ताव माग गरेको मन्त्रालय स्रोत बताउँछ। तर, यस विषयमा निर्णय भने भइसकेको छैन।

कतारले विमानस्थल निर्माणमा चासो देखाएपछि प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री युवराज खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीबीच पनि छलफल भइसकेको मन्त्रालय स्रोतको दाबी छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि कतारले केही समय अगाडि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष प्रस्ताव पेस गरेको थियो।

कतार सरकारले पेस गरेको प्रस्तावमा पर्यटन मन्त्रालयले कतारका लागि नेपाली राजदूतमार्फत सकारात्मक जवाफ पठाइसकेकाे सचिव देवकोटाले जानकारी दिए। तर, त्यसपछिको विषयमा भने आफूलाई कुनै जानकारी नभएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com