Mon. Apr 22nd, 2019

सांसदकाे बीदेशमाेह अचाक्लि, ३३ प्रदेश सांसदले गरे विदेश भ्रमण

चालु आर्थिक वर्ष २०७५–०७६ को पहिलो ६ महिनामा प्रदेशसभा अन्तर्गत ३३ जना सांसदहरुले विभिन्न देशको भ्रमण गरेका छन् । विदेश भ्रमण गर्नेमा सबैभन्दा बढी सांसद प्रदेश नं. ३ र गण्डकी प्रदेशका छन् भने सबैभन्दा कम प्रदेश नं. ५ र कर्णाली प्रदेशबाट विदेश भ्रमणमा गएको देखिन्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तथ्याङ्कअनुसार प्रदेश सांसदले सबैभन्दा बढी जापान, युरोप तथा अमेरिकी राष्ट्रको भ्रमण गरेका छन् । जापान, युरोप तथा अमेरिकापछि चीनको भ्रमण गर्ने सांसदको संख्या बढी रहेको छ । प्रदेशका सांसदहरु अफ्रिकाबाहेक सबै महादेशमा पुगेका छन् । ad

तथ्याङ्कअनुसार प्रदेश नं. १ का सांसदहरु सन्जाकुमारी दनुवारले जापान, मालामती कुमारी रानाले अष्ट्रेलिया, वसन्त कुमार बानियाँले लक्जेम्बर्ग, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्कीले दक्षिण कोरियाको भ्रमण गरेका थिए । प्रदेश नं. १ कै सामाजिक विकास मन्त्री जीवन घिमिरेले पनि यो अवधिमा विदेश भ्रमण गरेका छन् ।

प्रदेश नं. २ बाट प्रदेशसभा सदस्यहरु रुवी कुमारी कर्ण, शोभा लामा, वीरेन्द्र कुमार सिंह, नरेश कुमार यादव र दीलिप कुमार साहले एकसाथ जापानको भ्रमण गरेका थिए । यस्तै, प्रदेश नं. ३ बाट सभामुख सानुकुमार श्रेष्ठले भारत, सांसदहरु निमा लामाले अमेरिका, नरोत्तम वैद्यले फ्रान्स, राजेन्द्र गुरुङले फ्रान्स, दिपेन्द्र श्रेष्ठले फ्रान्स, विनोदकुमार खड्काले फ्रान्स र हिरानाथ खतिवडाले दक्षिण कोरियाको भ्रमण गरेका थिए ।

गण्डकी प्रदेशबाट मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हङकङ, आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बेलायत, उद्योग, पर्यटन र वन तथा वातावरण मन्त्री विकास लम्सालले थाइल्याण्डको म्रमण गरेका थिए । मुख्य मन्त्री गुरुङले यो अवधिमा चीनको पनि भ्रमण गरेका थिए । गण्डकी प्रदेशबाट प्रमुख सचिव लक्ष्मीराम पौडेल, योजना आयोगका उपाध्यक्ष गिरधारी शर्मा पौडेल र मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पनि चीन भ्रमण गरेका थिए ।

प्रदेश नं. ५ बाट लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले बेल्जियम र श्रीलंकाको भ्रमण गरेको देखिन्छ । कर्णाली प्रदेशबाट सांसदहरु राजु नेपाली र मिना सिंहले जर्मनीको भ्रमण गरेका थिए । सुदूरपश्चिम प्रदेशबाट तारालामा तामाङले चीन र अर्जेन्टिना, मोहदत्त जोशीले जापान र प्रकाश रावलले चीनको भ्रमण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *