Mon. Mar 25th, 2019

माफियाको चँगुलमा फस्दै मेडिकल कलेज, रोकिएन ठगी धन्दा(खोजि)

चिकित्सक उत्पादन गर्ने शैक्षिक संस्थाहरू माफियाको चंगुलमा फस्दै गएको छ । एमबीबीएस अध्यापन गराउने देशभरिका अधिकांश निजी मेडिकल कलेजले मनपरी शुल्क असुलेको पुष्टि भएपछि उनीहरूको ठगीको पर्दाफास भएको छ । यसरी मनपरी शुल्क असुलेर ठगी गर्ने मेडिकल कलेजका सञ्चालकलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रियासमेत अगाडि बढाएको छ । ठगी गरेको आरोपमा पोखरास्थित गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोषप्रसाद खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरी उनीहरूमाथि ठगी मुद्दा दायर गर्ने तयारी प्रहरीले गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले विद्यार्थीहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । प्रहरी प्रवक्ता सुवदीका अनुसार अन्य जिल्लामा पनि यस्ता कलेजले ठगी गरेको उजुरी आएको आधारमा त्यस्ता सञ्चालकलाई पक्राउ आवश्यक अनुसन्धान र छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने तयारी गरिएको छ ।

कलेजका सञ्चालक वा कसैले ठगी गरेको पुष्टि भएमा त्यसलाई एक वर्षदेखि १० वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।
निजी क्षेत्रका अधिकांश मेडिकल कलेजले विद्यार्थीबाट तोकिएभन्दा झन्डै दोब्बर शुल्क असुल्ने गरेका छन् । यसकारण, अभिभावक र विद्यार्थी दुवै मारमा पर्ने गरेका छन् भने कतिपय विद्यार्थी मानसिक तनावमा छन् ।

एमबीबीएस अध्ययनरत एक विद्यार्थीले भने, ‘निजी मेडिकल कलेजका सञ्चालक बस्छन् । आफैं शुल्क निर्धारण गर्छन् । सरकारको निर्णय मान्दैनन्, यो अवैध निर्णय भएन र ?’ हाल देशभरि २२ मेडिकल कलेजमा एमबीबीएसतर्फ १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । जसमध्ये १९ निजी र तीन सरकारी मेडिकल कलेज छन् ।

तोकिएको शुल्क नदिँदा विभिन्न बहानामा त्यस्ता विद्यार्थीलाई भर्ना नगर्ने र गरिहाले पनि विभिन्न बहानामा विद्यार्थीलाई मानसिक यातना दिइने गरेको विद्यार्थीको गुनासो छ । एमबीबीएस अध्ययन गरिरहेका एक विद्यार्थीले भने, ‘के गर्नु बढी शुल्क लियो भनेर गुनासो ग¥यो भने हामीलाई कलेज सञ्चालक वा त्यसका प्रतिनिधिले थर्काउँछन् । नम्बर कम आउँछ भनेर मानसिक यातना दिइने काम हुन्छ । त्यो भन्दा त नबोल्नु नै राम्रो ।’ विद्यार्थीहरूबाट तोकिएको शुल्कबाहेक विभिन्न शीर्षकमा प्रतिवर्ष २ लाख रुपैयाँसम्म र सेक्युरिटी डिपोजिट शीर्षकमा ५० हजार रुपैयाँसम्म लिने गरेका छन् ।

पोखरास्थित गण्डकी मेडिकल कलेजले विद्यार्थीबाट १ अर्ब ११ करोड २३ लाख ८८ हजार रुपैयाँ बढी शुल्क असुल गरेको पाइएको छ । कलेजमा अध्ययनरत विद्यार्थीले एमबीबीएसमा बढी शुल्क लिएको भन्दै कलेज सञ्चालक समितिका अध्यक्षसहित १० जनाविरुद्ध ठगीसम्बन्धी उजुरी दिएपछि जिल्ला अदालतको अनुमतिमा उनीहरूको नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । तीमध्ये खनाल र शर्मालाई निवासबाटै बुधबार राति पक्राउ गरिएको र बाँकी आठ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यस्तै, किस्ट कलेजले पनि विद्यार्थीबाट तोकिएभन्दा बढी शुल्क लिएको खबर बाहिर आएको छ । तर, कलेजमा अध्ययनरत एमबीबीएसका विद्यार्थीले कलेज सञ्चालकविरुद्ध उजुरी दिएको छैन ।

एमबीबीएसतर्फ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौंस्थित किस्ट मेडिकल कलेज, चितवन मेडिकल कलेज, पोखरास्थित गण्डकी मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज भैरहवा र जानकी मेडिकल कलेज जनकपुर छन् । त्यस्तै, काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजमा नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस (सीएमसी) चितवन, नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, विराट मेडिकल कलेज विराटनगर, नोबेल मेडिकल कलेज विराटनगर, देवदह मेडिकल कलेज भैरहवा र धुलीखेलस्थित काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेस (केयूएसएमएस) र पाल्पा मेडिकल कलेज छन् ।

सरकारले काठमाडौं उपत्यकाभित्र एमबीबीएसका लागि प्रतविद्यार्थी ३८ लाख ५० हजार रुपैयाँ र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ लिन सक्ने प्रावधान बनाएको छ । तर, केही मेडिकल कलेजले तोकिएभन्दा २५ लाख रुपैयाँ बढीसम्म शुल्क लिएको विद्यार्थीले गुनासो छ ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले तोकिएभन्दा बढी शुल्क लिने कलेजविरुद्ध आवश्यक कानुनी कारबाही गर्न गृह प्रशासनलाई आग्रह गरिसकेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले गण्डकी मेडिकल कलेजमा भएको अनियमितताको सन्दर्भमा गृह मन्त्रालयलाई जानकारी गराएको बताए । उनले भने, ‘हामीले आवश्यक कारबाहीका लागि गृह प्रशासनलाई भनिसकेका छौं, प्रक्रिया अघि बढिसकेको छ ।’
प्रहरी प्रधान कार्यालयले तोकिएभन्दा बढी शुल्क लिएर ठगी गरेको सम्बन्धमा उजुरी परे त्यसलाई तत्काल पक्राउ गरी आवश्यक छानबिन तथा अनुसन्धान गर्ने र दोषी ठहर भए तीविरुद्ध मुद्दा चलाउने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *