नारीवादी आलोकमा स्वस्थानीकालीन समाज र नारीपात्र



शैक्षिक जागरणले ल्याएको चेतनास्तर–अभिवृद्धिका साथसाथै विकास हुँदै आएको पितृसत्ता विरुद्धको लामो संघर्षका बाबजुद पनि हिन्दू महिलाको अवस्था र भूमिका किन दमित र दीनहीन देखिन्छ १ हाम्रो पितृसत्ता धर्मबाट निर्देशित छ, नीति–नियम धार्मिक र पौराणिक नीतिग्रन्थबाट संचालित छन् । नारीवादीहरु भन्दछन् कि हिन्दू धर्म नै नारीदमनको प्रेरक हो जसका कारण आज पनि नारीहरु हिंसाका शिकार भैरहेका छन् । लामो आन्दोलनका बाबजुद पनि भ्रूणहत्या, बालविवाह, बहुविवाह, छाउपडी, दहेज, चेलीबेटी बेचविखन जस्ता हिंसा ज्यूँदै छन् । धर्म सबै संस्कारमा शक्तिशाली हुन्छ । साँच्चिकै यी हिंसाजन्य र अमानवीय व्यवाहार हिन्दू धर्मकै मान्यताका कारण भएका हुन् त ? हिन्दू धर्म अवयव मानिएका महात्म्य र कथाहरुबाट धार्मिक मान्यताहरु अभिव्यक्त हुने हुनाले यहाँ स्वस्थानी व्रतकथाको चर्चा गरिएको छ ।

हिन्दुू धर्मग्रन्थ ‘स्वस्थानी व्रतकथा’
पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म एक महिना नेपाली हिन्दुका घरमा नित्य मध्यान्ह कालमा महादेवको पूजा गरी श्रीस्वस्थानी देवीको कथावाचन र ब्रत गर्ने गरिन्छ । सनातनी हिन्दूहरुले श्रद्धासाथ सुन्ने गरेको श्रीस्वस्थानी परमेश्वरीको यो कथामा देवाधिदेव महादेवकै अर्चना गरिएको भएपनि यसमा नारीहरु केन्दी्रय भूमिकामा छन् । ती नारीहरुको चारित्रिक विशेषतालाई तपसिलका बुँदामा चर्चा गर्न सकिन्छ ।

१. सर्वशक्तिमान् एवं शिवशक्तिस्वरुपा नारी  

स्वस्थानी देवी को हुन् र कस्ती छन् भन्नेबारे स्वस्थानी कथामा भनिएको छः
अष्टासु च दलेष्वेशु मातृकाष्टथितास्तथा ।
खड्गं त्रिशुलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालंकार–भूषिताम् ।
सुवर्णवद्धिका साभां स्वस्थानी परमेश्वरी ।।

अष्टदल पद्ममा शक्तिका देवी अष्टमातृका (महाकाली, वैष्णवी, ब्राम्ही, माहेश्वरी, कौमारी, बाराही, इन्द्रायणी र चामुण्डा), माझमा चार हातमा त्रिशूल, तरबार, चक्र र कमल लिएकी, तीन नेत्र भएकी, सम्पूर्ण अलंकार पहिरेकी पीतवर्णकी स्वस्थानी देवी छन् । यिनी कुनै पुरुषमा निर्भर एवं निर्देशित देखिन्नन् । यी ब्रम्हा, बिष्णु, महेश्वरको अस्त्रप्राप्त, त्रिनेत्रधारी शिवस्वरुपा आदिशक्ति हुन् जो आफैमा स्वतन्त्र, शक्तिशाली, भक्तवत्सल छिन् र आफ्ना भक्तजनलाई चिताएको फल दिन सक्छिन् भनी वर्णन गरिएको छ । उनको पूजा शिवलिङ्ग स्थापना गरी गरिनुले उनी त्रैलोक्यकी अधिपति, शिवस्वरुपा हुन् भन्ने बुझ्न सकिन्छ । परनिर्भरता, कायरता, लाचारीपना नै नारीका चरित्र मानिने आजको समाजमा स्वस्थानी देवी जस्तो उच्च भूमिका कुनै नारीको हुन सक्ला ?

२. पतिव्रता धर्म÷ शास्वत प्रेमपालक नारी 

स्वस्थानी कथामा नारीको अस्मिता र प्रेमको महिमागान गरिएको छ । दक्षप्रजापतिकी स्त्री विरणी साध्वी र पतिव्रता भएकीले छाग–मुख वा बोकाको मुख जोडिएकै भए पनि श्रीमान्को पुनर्जीवनको वरदान पाइन् । दक्षकन्या सतीदेवीले आफ्ना पतिको अपमान सहन नसकी अग्निकुण्डमा फाल हालेर देहत्यागपश्चात् पुनर्जन्ममा संघर्ष गरी आफ्नो प्रेम प्राप्त गरेकी छन् । वृन्दाको पतिव्रता धर्मका प्रभावले महादेव, विष्णुसहित ब्रम्हा, इन्द्रादि तेत्तीसकोटी देवता, यक्ष, गन्धर्व, किन्नर, नन्दी–भृङ्गी, चतुषष्ठी योगिनी, भूतप्रेत, पिशाच, राक्षस सबै मिलेर लडाईं गर्दा पनि जालन्धरलाई मार्न नसकेको र बृन्दाको पतिब्रता धर्म नष्ट गरेपछि मात्र महादेवले जालन्धरलाई मार्न सकेको प्रसंगले पतिव्रता धर्म, अस्मिता र प्रेमको उच्च सम्मान गर्दै यिनलाई नारी मात्र नभै उनका पतिको समेत शक्ति मानिएको छ । वृन्दाले दिएको श्राप भगवान् विष्णुले समेत पृथ्वीतलमा आई तुलसी, कुश, पीपल र शालिग्राम भै भोग्नुपरेको प्रसंगले तात्कालीन नारी वचनको पनि उच्च सम्मान भएको प्रमाणित हुन्छ ।

३.नारी सौन्दर्यको सम्मान 

स्वस्थानी कथामा नारी सुन्दरताको अपार वर्णन गरिएको पाइन्छ । दक्षकन्या सतीदेवी र उनकै पुनर्जन्म पार्वतीको सुन्दरताको वर्णनमा भनिएको छ— हजार सूर्यको जस्तो तेज भएकी, बत्तीस लक्षणले युक्त, पद्मपत्र जस्ता नेत्र भएकी, अरुणोदय भएजस्तो रक्तवर्ण भएकी, हात्तीका सूँढजस्तो हात भएकी कदलीस्तम्भ जस्ता पाउ भएकी, चन्द्रमाको जस्तो उज्ज्वल र शान्त मुख भएकी, कोमल अंग भएकी भनी वर्णन गरिएको छ । अन्तःपुर नगरको जालन्धर महादेवपत्नी पार्वतीको सुन्दरताको वर्णन सुनी पार्वतीलाई छल्न कैलाश पुगेको तर पार्वतीको अनिन्द्य रुप देखी मूच्र्छा परेको प्रसंग छ । त्यस्तै जालन्धरपत्नी वृन्दा, गन्धर्वकन्याहरु गोमा ब्राम्हणी, नागिनीहरु, अपसराहरु सबै नारीका सौन्दर्यको बयान गरिनुले तात्कालीन समाजमा नारी सौन्दर्यको सम्मान गरिएको देखिन्छ । आजको समाजमा माथि वर्णित सौन्दर्यप्राप्त नारी भए कि त बलात्कृत हुँदी हो, कि त मानवतस्करी वा हत्याको शिकार ।

४. छोरी नै सन्तानको रुपमा स्थापित

दक्षप्रजापति र विरणीले तेत्तीसकोटी छोरी जन्माई उचित लालनपालन गरेको र तेत्तीसकोटी देवतासँग यथाशक्य द्रव्य दिई विवाह पनि गराइदिएको प्रसंग उल्लेख छ । प्रार्थना र वरदानबाटै सन्तान पनि प्राप्त गर्न सकिने त्यस जमानामा छोरी धेरै जन्मे भनेर न त भ्रूणहत्या न त छोराको प्राप्तिको अभिलाषा छ । शिव भट्टको अपार भक्तिबाट प्रशन्न भई सिद्धिविनायक भगवानका कृपाबाट गोमाकन्या प्राप्त भएको प्रसंग उल्लेख छ । शिवशक्तिलाईृ नै माथ गर्नसक्ने शक्तिशाली सिद्धिविनायकले पुत्र नै वरदान दिन सक्थे होलान्, किन पुत्री दिए त ? अनि घोर तपस्वी र दानप्रेमी शिव भट्टले पुत्री नभै पुत्र नै माग्न सक्थे किन मागेनन् होला ? किनभने त्यतिबेला पुत्री वा पुत्र दुबैलाई समान रुपमा सन्तान मानिन्थ्यो, छोरा र छोरीमा भेदभाव थिएन । आजको अवस्था हुँदो हो त दक्षदम्पतिले पुत्रको पर्खाइमा कैयौँ स्त्रीभ्रूणहत्या गर्दा हुन् वा संसारमा पदार्पण हुनेबित्तिक्कै टुकुचामा फाल्थे होलान् वा कन्या बेचबिखन गरी द्रव्यलाभ गर्दा हुन् अनि शिवभट्ट दम्पति सिद्धिविनायकलाई घुस खुवाएरै भएपनि छोरा प्राप्त गर्दा हुन् ।

५.समन्वय र अधिकार प्रत्यायोजनमा सहजता 

नारी अधिकारको बहस चल्नेबित्तिक्कै पुरुषहरुबाट नारीको शत्रु नारी नै हुन्छ, नारीबाट नै नारीको अधिकार खोसिन्छ भन्ने कुतर्क तेस्र्याएका सयौँ प्रसंग पाइन्छन् । स्वस्थानी कथामा चन्द्रावती महारानी आफ्ना पति नवराज घर छोडी कामको खोजीमा हिँडेपछि घरमा खानेकुरा नभएकाले आफ्नी सासु गोमालाई एक्लो ज्यान पाल्न सहज होला भनी सल्लाह गरेर माइत हिँडेकी छन् । नवराज राजा घोषित भएपछि गोमाले ममतासाथ बुहारी लिन पठाएकी छन् । महातारी गोमाले ढुकुटीको चाबी बुहारीहरुलाई बुझाएको प्रसंगले गोमा एवं चन्द्रावती तथा लावण्यवती महारानीबीच कुनै बैमनस्यता तथा शत्रुताको आभाष देखिदैन । आफ्नै पतिले छलकपटबाट विवाह गरी एक्ली तुल्याइएकी गोमाले अत्यन्त दुख पाएपछि माता पार्वतीले ऋषिमुनिलाई स्वस्थानीको महिमा सुनाई गोमाको दुःखहरण गर्न पठाएको प्रसंगमा कतै नारी शत्रुता र अधिकारहरणको आभाष पनि पाउन सकिँदैन ।

६.अधिकारप्रति सचेत नारी 

नवराज राजाकी जेठी पत्नी चन्द्रावती आफ्ना पति राजा भएको र आफू महारानी भएको थाहा पाउनासाथ उत्साहित हुनु स्वभाविक हो । लामो यात्राको थकान र भोकबाट प्रताडित डोलेहरु खानाको खोजीमा जानु स्वभाविक हुँदाहँंदै पनि महारानीलाई एक्लै छोड्नु उनीहरुको कमजोरी देखिन्छ । महारानी यसमा सचेत देखिन्छिन् र डोलेहरुप्रति गालीगलौज र दुव्र्यवाहार गरेको प्रसंग उल्लेख छ । उनले डोलेहरु र प्रसादप्रति गरेको अपमान स्वाभाविक नदेखिए पनि घनघोर जंगलमा महारानीलाई एक्लै छोडेर जानु उनीहरुले महारानीप्रति अपमान गरेको देखिन्छ । महारानी भएकी आफूले पाउनुपर्ने अधिकार र सम्मानप्रति सचेत गराएकी थिइन् महारानी चन्द्रावतीले ।

७. धर्म र संस्कारका संरक्षक नारी 

स्वस्थानी कथा एक शक्तिस्वरुप पूर्ण नारीको कथा हो । उनी स्त्री स्वरुपमा देखिन्छिन् । उनी आफैं धर्मकी मर्मज्ञ नभए भगवान्मा कसरी स्थापित हुन्थिन् ? गोमाले अत्यन्त दुःख पाएपछि माता पार्वतीले ऋषिमुनिलाई स्वस्थानीको महिमा सुनाई व्रत गराई गोमाको दुःखहरण गर्न पठाएको, पतिबिना पनि गोमाले आफ्ना पुत्र नवराजलाई उत्तम संस्कार दिएको र अप्सराहरु आपंmै गंगामा आई स्वस्थानी व्रत एवं उद्यापन गरेको, नागिनीहरुले आफ्ना पतिहरु उनै स्वस्थानी माताको मार्गनिर्देशनबाट प्राप्त गरेको तथा दुःखमा परेकी चन्द्रावती महारानीलाई पनि अप्सराहरुले स्वस्थानी व्रत एवं उद्यापन गराई दुखमोचन गराएका प्रसंग देखाइएकोले नारी पात्र धर्मका संरक्षक, पालक एवं प्रचारक देखिएका छन् ।

साथै तात्कालिन समाज र पात्रहरु पनि नारीप्रति उदार देखिन्छन् । समाजले झुपडीमा बस्ने एक्ली, दुखी, विधवा गोमालाई गोठालाहरुले आफ्नो खाजा दिनु अनि दुखी असहाय खोज्दै आएका ऋषिहरुलाई गोमाको घर पठाई उनको दुखहरणमा सघाउ गरी सामाजिक सुरक्षा दिएको छ । वर्तमान अवश्थामा गोमा हुंदी हुन् त बोक्सीमा आरोपित भई सामाजिक रुपमा अपमानित हुनु पर्दो हो ।

हिन्दू आचार संहिताको विश्वकोष मानिएको मनुस्मृतिमा भनिएको छः “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । यत्रैतास्तु न पूज्यन्ते सर्वास्त्रताफलाः क्रियाः । (Where women are honored, Divinity Blossoms there; and where they are Dishonored, All Action remains Unfruitful. (Manusmriti 3.56), जहाँ नारीको सम्मान हुन्छ त्यहा देवता पनि रमाउँछन्, जहाँ नारीको अपमान हुन्छ त्यहाँ सारा काम निष्फल हुन्छ ।)

मनुको यो भनाइ नै हिन्दू नारीको आध्यात्मिक अधिकारको मार्गदर्शन हो । स्वस्थानीकालीन समाजमा नारीको अपमान भएको देखिंदैन । हिन्दू धर्म नै संसारको त्यस्तो धर्म हो जहाँ देवता र देवीहरु छन् । सबै लोककी संरक्षक कालीमाता (जसलाई देव चाहिएको देखिँदैन) बाहेक सबै देवका जोडी देवी भएको उल्लेख हुनु र नीति निर्णयमा देवीको आफ्नै अधिकार भएको देखाइनुले पौराणिक हिन्दू नारी पूर्ण स्वतन्त्र र हक अधिकारवाला देखिन्छन् । ब्रह्माण्डमा शक्ति भन्नाले महिलालाई जनाउँछ । हिन्दू आध्यात्मले सबै चराचर जगत भगवानका अंगहरु÷सन्तान हुन्; भगवान महिला वा पुरुष होइनन्, सबका संरक्षक हुन् भन्ने मान्दछ । धर्मले दैहिक सृजनामा महिला र पुरुष शक्तिको सन्तुलन अपरिहार्र्य देखाई नारी समता र समानताको अनुपम उदाहरण पेश गरेको छ ।

यसबाट प्रष्ट हुन्छ कि नारी शोषण र दमनको कारण हिन्दु धर्म होइन । हिन्दू धर्मले त नारीलाई भगवान् मानेको छ, सम्पूर्ण अधिकारवाली पूर्ण मानव मानेको छ, सम्मान दिएको छ । नारीहरु धर्मका नाममा अधर्मीहरुले लादेका वा आर्थिक रुपमा रचेका दमन शोषण र अपमानबाट त पीडित छन् । धर्मले महिलालाई दिएको मान्यतालाई केही धर्मभिरु पण्डितहरुले उखानटुक्का वा आख्यानका माध्यमले अपव्याख्या गरी पुरुषवादी दृष्टिले अथ्र्याए र समाजका निमुखामाथि लागू गरे । हाम्रा धर्मग्रन्थहरुमा स्थापित नारी महिमालाई मनन् गर्दै समाजलाई अनुशासन र मर्यादातिर मार्गनिर्देश गर्नु हाम्रो परम कर्तव्य हो । आयातित संस्कृतिका पछाडि नलागी हाम्रा शाश्वत मान्यता र मौलिकतालाई आजका नारीवादीहरुले आत्मसात गर्न सकेमा हामीलाई पनि सभ्य समाजका समुन्नत नागरिक बन्ने सौभाग्य प्राप्त हुनेछ ।-जय माताजी  !

-हर्मी, गोरखा

ताजा अपडेट