Mon. Mar 25th, 2019

ट्रम्पका सहयोगीलाई ४७ महिना जेल सजाय !

अमेरिका। संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा अदालतले बिहीवार राष्ट्रपति डोनल्ड ट्रम्पका भूतपूर्व सहयोगी पल म्यानफोर्टलाई बैंक ठगी र कर हिनामिनाको अभियोगमा ४७ महिनाको जेल सजाय सुनाएको छ ।

उहाँ ट्रम्पको सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचन अभियान प्रमुख हुनुहुन्थ्यो । गत वर्ष अदालतले म्यानफोर्टले युक्रेनमा राजनीतिक परामर्शबाट कमाएको दशौँ लाख डलर लुकाएको ठहर गरेको थियो ।

राष्ट्रपतीय निर्वाचनका बेला ट्रम्प र रुसको सम्बन्धबारे एउटा छानबिन सुरु भएपछि उहाँविरुद्ध ती अभियोगहरू लगाइएको थियो । म्यानफोर्टले दुई करोड ४० लाख डलर क्षतिपूर्ति र ५० हजार डलर जरिवाना तिर्नुपर्ने फैसला अदालतले सुनाएको छ ।

बिहीवार साँझ अदालतमा उपस्थित भएका म्यानफोर्टले विगत दुई वर्ष आफ्नो जीवनको सबैभन्दा कठिन समय भएको बताउनुभएको थियो । आफू अपमानित र लज्जित भएको भन्दै उहाँले न्यायाधीशलाई आफूप्रति सहानुभूति राख्न अनुरोध गर्नुभएको थियो । उहाँले आफ्नो जीवन व्यावसायिक र आर्थिक रूपमा भद्रगोल भएको पनि स्वीकार गर्नुभयो ।

तर न्यायाधीश टीएस एलिसले म्यानफोर्टले अनुचित गतिविधिमा संलग्न भएर पनि पश्चात्ताप नगरेकोमा आश्चर्य व्यक्त गरेका सञ्चारमाध्यममा जनाइएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *