Mon. Mar 25th, 2019

जब मन्त्रीज्युले धाराको टुटी खोल्नुभयो …

फिदिम । प्रतिलिटर ६० पैसामा खानेपानी खरीद गरेर जीविका चलाउँदै आएका पाँचथरको कुम्मायक गाउँपालिकाका स्थानीयवासीले डिप बोरिङ गरेर जमीनबाट पानी निकालिएपछि ‘आनन्द’को अनुभूति गर्दैछन् ।

रु ५१ करोड बजेट खर्च गरिएको यासोक क्षेत्र पम्पिङ खानेपानी आयोजना समयमै सम्पन्न नहुँदा खानेपानीको चरम अभावमा ‘काकाकुल’ थियो, कुम्मायक । यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको परिकल्पनाअनुसार यहाँ डिप बोरिङ जडान गरियो । नभन्दै पानी निस्कियो र वितरण हुन थालियो । त्यही डीप बोरिङ आयोजनाको मन्त्री आङ्बोले शनिबार औपचारिक उद्घाटन गर्नुभयो ।

काकाकुल कुम्मायकवासीका लागि समस्याको अल्पकालीन समाधान गराउन उहाँले योजना बनाउनुभयो, बजेट निकासा भयो । पानी आएको धाराको टुटी खोल्ने पनि मन्त्री आङ्बो उपस्थित हुनुभयो । यो क्षणमा स्थानीयवासी हर्षविभोर थिए । जब धाराबाट पानी झ¥यो, सयौँ सहभागीले तालीमार्फत यसको स्वागत गरे ।

सुख्खाग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकामा खानेपानीको उद्घाटनसँगै त्यस क्षेत्रका करीब एक हजार ५०० घरधुरीका सात हजार ५०० परिवारमा खानेपानीको अल्पकालीन सुविधा पुगेको छ । कुम्मायक गाउँपालिका–१ स्थित यासोक बजारमा शनिबार डीप बोरिङबाट निकालिएको पानीको धारा खोलेर उद्घाटन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *