बुध्द एयरको कोलकोता उडान जेठ १३ देखि हुने



काठमार्डौ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने भएको छ । बुध्द एयरले यसअघि उसले वैशाख २ गतेदेखि कोलकाता उडान गर्ने मिति तय गरेको थियो । तर, भारतमा लोकसभा निर्वाचनका कारण केहि समय ढिला हुन लागेको हो ।

कोलकोता उडान एटिआर ७२–५०० जहाजले साताको नियमित ३ उडान भर्नेछ । निर्वाचनले उडान मिति परिवर्तन भएपनि उडान समय तालिकाभने परिवर्तन नभएको कम्पनीले जनाएको छ । उडान हरेक साताको सोमबार, बुधबार र शुक्रबार हुने जनाएको छ । लोकसभा निर्वाचन अप्रिल ११ देखि मे १९ सात चरणमा सञ्चालन हुनेछ ।

भारतीय यात्रुहरुको लागि बुध्द एयरको भगीनी संस्था बुध्द होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजहरु पनि सञ्चालन गर्नेछ । यसका लागि भारतमा डिजिटलका साथै अन्य माध्यमबाट पनि प्रचार प्रसार गरिरहेको छ । यसैगरि नेपाली यात्रुहरुका लागि पनि कोलकाता टुर प्याकेज, गंगासागर तथा जग्गनाथपुरी दर्शन प्याकेज ल्याएको छ ।

बुध्द एयर निजी क्षेत्रद्वारा सञ्चालित सबैभन्दा अग्रणी वायुसेवा कम्पनी हो । हालसम्म कम्पनीले देश विदेश गरि करोडौं यात्रुहरुलाई सेवा प्रदान गरिसकेको छ । बुध्द एयरसँग अहिले ६ वटा एटिआर ७२–५००, तीनवटा एटिआर ४२–३२० र २ वटा बीचक्राफ्ट जहाज सन्चालनमा छन् । थप अर्को एटीआर ७२ जहाज अर्को महिनादेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

ताजा अपडेट