Mon. Mar 25th, 2019

साझाका तत्कालीन महाप्रबन्धक शर्मालाई ३ दिनभित्र स्पष्टीकरण पेस्न मन्त्रालयको निर्देशन

काठमाडौं- साझा प्रकाशनमा देखिएको बेथिति रोक्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अग्रसरता लिएकी छन्। उनले तत्कालीन महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई तीन दिन भित्र स्पष्टीकरण पेश गर्न पत्राचार गर्न साझा प्रकाशनलाई निर्देशन दिएकी छन्।

आफ्नै छापाखाना, देशभर जग्गा भएको साझा प्रकाशन धराशायी भएको, कर्मचारीहरू आन्दोलनरत रहेको, तलब नपाएको, कर्मचारी र नेतृत्वबीच राम्रो सम्बन्ध नभएको, सञ्चालक समिति र कर्मचारीको सम्बन्ध बिग्रिएकोलगायतका आरोप शर्मामाथि लागेको थियो।

फागुन १९ गते शर्मालाई मन्त्रालय तानेर मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीलाई साझाको महाप्रबन्धक तोकिएको छ।

साझा प्रकाशन सहकारी संस्थाले आज बुधबार पत्राचार गरी ३ दिनभित्र सञ्चालक समिति समक्ष स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको मन्त्रालयले जानकारी दिएको छ।

संस्थाका अध्यक्ष रघुराम विष्टद्वारा जारी गरिएको पत्रमा तत्कालीन प्रबन्धक शर्मालाई साझा प्रकाशन नियमावली, २०७३ (संशोधन सहित) को नियम ३०.१ को खण्ड (ख) बमोजिम आचरण तथा अनुशरण सम्बन्धी नियम उल्लंघन गरेको र सोही नियमावलीको खण्ड (च) बमोजिम पदको जिम्मेवारी वेवास्ता गरेको देखिएको भन्दै ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ।

सञ्चालक समितिको फागुन २८ गतेको निर्णयअनुसार स्पष्टीकरण सोधिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *