Mon. Mar 25th, 2019

विप्लवमाथि प्रतिबन्धले नेकपाभित्र तरङ्ग, प्रचण्ड,माधव नेपाल र झलनाथ खनालको छुट्टै बैठक

कबाठमाडौं । मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा तरङ्ग आएको छ । सरकारको निर्णयले सचिवालयकै धेरै नेताहरु असन्तुष्ट बनेका छन् । र, यसबारे नेकपाका शीर्ष नेताहरुमा छलफल सुरु भएको छ ।

सरकारले एकपछि अर्को गर्दै विवादीत निर्णय गर्न थालेपछि असन्तुष्ट बनेका सचिवालयका नेताहरु र अध्यक्ष प्रचण्ड सहित बुधबार विहान खुमलटारमा बैठक बसेको थियोे । बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी रहेको स्रोतले बताएको छ ।

विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णयबारे पार्टीमा कुनै छलफल नभएको र पार्टीलाई भद्रगोल अवस्थामा पुर्याएको, सांगठनिक एकीकरणका वाँकी काम अलमलाएको भन्दै असन्तुष्ट चार नेताहरुले अध्यक्ष प्रचण्डलाई नीतिगत निर्णय गर्न तत्काल सचिवालयको बैठक बोलाउन प्रधानमन्त्री ओलीलाई दबाब दिनेबारे छलफल भएको बताईएको छ ।

विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णयपछि चौतर्फी सरकारको विरोध भएको छ । यसमा सत्तारुढ दलकै दोस्रो तहका केहि नेताहरुको असन्तुष्टि बाहिर आएको छ । सचिवालयका शीर्ष नेताहरुको धारणा हालसम्म सार्वजनिक हुन सकेको छैन ।

स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा छलफल बिना एकपछि अर्को निर्णय गर्न थालेको र त्यो गलत हुने भन्दै असन्तुष्ट नेताहरुले अध्यक्ष प्रचण्डलाई पहल गर्न आग्रह गरेका थिए । खुमलटारको भेट लगत्तै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट गरेका थिए ।

बिहिबार प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्डसहित असन्तुष्ट चार नेताहरुको छलफलपछि मात्रै नेकपाले विप्लवमाथि लगाएको प्रतिवन्धबारे आधिकारीक धारणा सार्वजनिक गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *