राष्ट्रिय गानबाट सुरु भयो सीके राउत समूहको बैठक, बैठकस्थलमा कडा सुरक्षा


सिरहा– सरकारसँग ११ बुँदे समझदारीपछि मूलधारको राजनीतिमा प्रदेश गरेका सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषदको बैठक यहाँ सुरु भएको छ । पहिलो पटक सार्वजनिक स्थलमा कडा सुरक्षाबीच बैठक सुरु भएको हो ।

मधेशको २२ जिल्लाबाट २ सय प्रतिनिधि तथा पर्यवेक्षक बैठकमा सहभागि भएको गठबन्धनका नेता सुदीपराज कुशवाहाले जानकारी दिए । बैठकमा सहभागि हुन आएका गठबन्धनका नेताहरुलाई परिचयपत्रको रुपमा नागरिकता देखाएपछि बिना मोबाइल बैठकस्थलमा प्रवेश दिइएको थियो ।

सरकारसँग ११ बुँदे सहमतिपछि पहिलो पटक परिषदको बैठक बस्न लागेको र यस वैठकबाट गठबन्धनको आगामी राणनीति तय गर्न गम्भीररुपमा बहस चल्ने भएकाले मोबाइल निषेध गरिएको कुशवाहाले जनाए ।

सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थित मारवाडी सेवा सदनमा आइतबार बिहान ११ बजेदेखि शुरु बैठकको सुरुवात नेपालको राष्ट्रिय गानबाट गरिएको थियो ।

राष्ट्रिय गान ‘सयौं थुङ्गा फूलका हामी..’ बजाइएपछि संयोजक डा. राउतले दीप प्रजल्वन गर्दै स्वं राममनोहर यादवको तस्विरमा माल्यार्पण गरेका थिए ।

एक स्वयंसेवकका अनुसार वैठकस्थलमै नास्ता देखि भोजनसम्मको प्रबन्ध गरिएको छ । वैठकस्थलको मूल गेटबाटै गठबन्धनको आन्तरिक सुरक्षा दस्ताले वैठकस्थलमा कडाइ गरेको छ । प्रहरीले भने मारवाडी सेवा सदनको मुल गेट नजिकै सडकमा उभिएर सुरक्षा दिइरहेको छ । बैठकस्थलभित्र प्रहरीसमेतलाई प्रवेश दिइएको छैन ।

यस बैठकमा सरकारसँग भएको ११ बुँदे सहमतिमा उल्लेखित ‘जनअभिमत’ शब्दमाथि कडारुपमा बसह भइरहेको स्रोतले जनाएको छ ।

बैठक भोली सम्म चल्ने आयोजकले जनाएको छ ।

बैठक सुरु भएसँगै संयोजक राउतले आफ्नो फेसबुक पेजबाट केही बैठकका तस्विरहरु सार्वजनिक गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *