गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य तिब्र ! ए ३४० र ७७७ सम्मका ठूला जहाज अवतरण हुने



भैरहवा । राष्ट्रिय गौरवका आयोजनामध्ये भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम भइरहेको छ । अब काममा अवरोेध नआए आगामी असार पहिलो सातादेखि उडान संचालन हुने भएको छ।असार पहिलो साताबाटै आन्तरिक उडान गराउने लक्ष्यसहित काम भइरहेको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।

यो विमानस्थलमा एयरबसको ए ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गराउन सकिने छ । यस विमानस्थलको स्तरोन्नतिसँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण भएकोे छ।विमानस्थलको धावनमार्ग तीन हजार मिटर लामो र ४५ मिटर चौडा रहेको छ ।

बाँकी इक्युपमेन्ट रेडार, वत्ती तथा प्राविधी जडानको लागि टेन्डर प्रक्रियाबाट कम्पनी छनोट भइसकेको छ।एसीयाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सन् २०१६ देखि विमानस्थल निर्माण सुरु भएको थियो । भूकम्प तथा भारतीय नाकाबन्दीले पछाडि एकवर्ष थकेलिएको थियो ।

सन् २०१८ मा संचालनमा ल्याउने लक्ष्यसहित निर्माणको ठेक्का पाएको चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन र स्थानीय ठेकेदारसँगको झगडाका कारण सात महिना निर्माण ठप्प भएको थियो।आयोजना निर्माणको लागि आठ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको थियो ।

तर लागत बढेर पहिलो चरणमै ११ अर्ब पुग्ने अनुमान गरिएको छ भने यता मुआब्जाको लागि २३ अर्ब रुपैयाँ आयोजनाले माग गर्दै आएको छ । समयमा काम सम्पन्न नहुँदा नेपाल आउने र जाने हवाई यात्रुले सास्ती व्योहोर्दै आएका छन् ।

ताजा अपडेट