२०७५ सालमा भएका चर्चित अन्तराष्ट्रिय राजनीतिक घटनाक्रमहरु



काठमाडौं । समयक्रमसंगै नेपाली क्यालेन्डरले वर्ष २०७५ लाई पनि लगभग विदा गरेको छ । वर्ष ०७५ को अन्त्यसंगै ०७६ को पूर्वसन्ध्यामा हामी नेपालीहरु छौं ।

वर्ष २०७५ मा विश्व भएका प्रमुख घटनाहरुलाई हेर्ने हो भने आजको मितिसम्म आइपुग्दा वर्षभरीमा मुख्य घटनाक्रमहरुको सूचिमा राजनीतिक घटनाहरु धेरै देखिए पनि अन्य जस्तै ठूला दुर्घटना, भ्रष्टाचारजस्ता मुद्दाले पनि विश्वको ध्यान आकर्षण गरेको छ ।

त्यसबाहेक हिंसात्मक, आपराधिक तथा विभिन्न घटनाहरुले पनि चर्चा पाएका छन् । यस वर्ष भएका चर्चित घटनाहरुको संक्षेपमा स्मरण गरौँः   उत्तर कोरिया र अमेरिकाबीच दुई शिखर वार्ता लामो समयदेखि एकअर्कालाई सबैभन्दा ठूलो शत्रु मानेका उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा यस वर्ष नाटकीय परिवर्तन आयो ।

उत्तर कोरियाली नेता ‘किम जोङ उन’ र अमेरिकी राष्ट्रपति ‘डोनाल्ड ट्रम्प’ले गत वर्षको जुन १२ अर्थात् जेठ १२ गतेका दिन सिंगापुरमा पहिलो शिखरवार्ता गरे ।

एकअर्कालाई नै समाप्त पार्ने अभिव्यक्ति दिँदै आएका किम र ट्रम्पले पहिलो शिखर वार्तामा अंकमाल गरेको भिडियो तथा तस्विर सार्वजनिक भएपछि विश्व समुदाय नै चकित बनेको थियो ।

यो घटना सम्भव बनाउने मुख्य श्रेय भने दक्षिण कोरियाका राष्ट्रपति ‘मुन जाए इन’लाई जान्छ । सम्बन्ध सामान्यीकरण गर्ने र कोरियाली द्धीपलाई आणविक निःशस्त्रीकरण गर्ने अभियानलाई जारी राख्दै ट्रम्प र किमबीच दोश्रो शिखर सम्मेलन गत २७ र २८ फेब्रअरीमा सम्पन्न भयो ।

यो दोश्रो बैठक बिना सहमति नै टुंगिएपछि यसको कारण अमेरिकाले उत्तर कोरियालाई बताएपछि सम्बन्ध फेरी चिसिएको छ । तेश्रो शिखर सम्मेलनको बाटो खोज्न दक्षिण कारिेयाली राष्ट्रपति मुनले पुनः ट्रम्पसँग जारी राखेका छन् ।

मिती तय नभएपनि किम र ट्रम्पबीच शिखर वार्ता चाँडै हुने अपेक्षा गरिएको छ ।साउदी अरबका महिलाको स्वतन्त्रता  विश्वमै चर्चामा आउने व्यक्तिहरुमध्ये एक साउदी अरबका युवराज मोहम्मद बिन सलमानको अग्रसरतामा यसै वर्षको जुन २३ देखि साउदीका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने अधिकार पाएका छन् । महिलाले सवारी चलाउन नपाउने कानुन रुढीबादी संस्कार भएको भन्दै आफ्नो मुलुकलाई आधुनिकतातर्फ कदम चालेका सलमानको भनाईलाई विश्वभरी प्रशंसा र स्वागत गरिएको थियो ।

युवराज सलमान एकातिर आफ्नो आधुनिक विचारधाराका लागि चिनिए भने अर्कातिर साउदीका वरिष्ठ पत्रकार जमाल खशोग्जीको हत्या र हत्यामा युवराज सलमानको प्रमुख संलग्नता रहेको विषयले लामो समयसम्म विश्वव्यापी चर्चा र आलोचना पायो ।   ८ देशका नागरिकलाई ट्रम्पको प्रतिबन्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पल मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई यसै वर्षदेखि अमेरिका प्रवेशमा रोक लगाएका छन् ।

राष्ट्रपति ट्रम्पले आठ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएपछि विश्वका केही समुदायद्धारा उनको निक्कै आलोचना भएको थियो ।  थाइल्याण्ड गुफामा हराएका १२ बालक  थाइल्याण्डमा एक गुफामा १२ जना बालकहरु र उनीहरुका फुटबल प्रशिक्षक फसेको घटनाले विश्वकै ध्यान केन्द्रित गरेको थियो ।

सियाङ रायस्थित थाम लुआङ गुफामा हराएका उनीहरुलाई ९ दिनपछि दुईजना बेलायती गोताखोरहरुले भेटेका थिए । उनीहरुलाई भेटिएको १० दिनपछि १० जुलाईका दिन मात्रै सकुसल उद्धार गरिएको थियो भने उद्धार टोलीका एक गोताघोरको मृत्यु भएको थियो ।

उद्धार गरिएका १२ जना बालक र उनीहरुका प्रशिक्षकलाई फिफाले विश्वकप–२०१८ प्रत्यक्ष हेर्न पाउने अवसर पनि दिएको थियो ।  पाकिस्तानमा नयाँ शक्तिको उदय यसै वर्ष पाकिस्तानले नयाँ प्रधानमन्त्री पाएको छ भने पूर्वप्रधानमन्त्रीलाई जेल पठाएको छ ।

भ्रष्टाचार आरोपमा पूर्वप्रधानमन्त्री नवाज सरिफलाई १० तथा उनकी छोरी मरियमलाई ७ वर्षको जेल सजाय सुनाइएको थियो । सरिफ असार २९ गते पक्राउ गरिएपछि पाकिस्तानको राजनीतिमा नयाँ उत्ताव चढाव आएको थियो ।  पाकिस्तानमा जुलाई २५ मा संसदको निर्वाचन भएको थियो, जसबाट प्रधानमन्त्रीमा क्रिकेटका पूर्वकप्तान इमरान खानले जितेसँगै नयाँ शक्तिको उदय भएको छ ।

क्रिकेटको क्षेत्रमा सर्वाधिक चिनिएका इमरानले पाकिस्तानको खस्कदो आर्थिक अवस्था र भ्रष्टाचारलाई रोक्नमा राम्रो प्रयास गर्ने आशा गरिएको छ ।  भारत–पाकिस्तान तनाव यस वर्ष दक्षिण एसियाका आणविक सम्पन्न दुई छिमेकी देश भारत र पाकिस्तानबीच उत्पन्न तनावले विश्वको ध्यान आकर्षण गर्न पुग्यो ।

गएको १४ फेब्रुअरीका दिन भारतको प्रशासित क्षेत्र पुलवामामा ४० सुरक्षाकर्मीको मृत्यु हुने गरी भएको आत्मघाती आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्धले झन्डै युद्धको रुप लियो । यद्यपि, पुलवामा आक्रमणमा संलग्नता रहेको भारतको भनाईलाई पाकिस्तानले अस्विकार गर्दै आएको छ भने, पाकिस्तानमा नयाँ शक्तिको रुपमा उद्धाएका प्रधानमन्त्री इमरान खानले वार्ताबाट यस तनावको हल निकाल्नुपर्ने पक्षमा छन् ।

भारतीय लडाकु विमान चालक अभिनन्दन वर्तमानलाई शान्तिको प्रतिकको रुपमा सकुशल भारत फिर्ता गर्ने प्रधानमन्त्री इमरानको निर्णयलाई विश्वले निक्कै सकारात्मक रुपले हेरेको छ ।  ठूला विमान दुर्घटना यस वर्ष तीन ठूला विमान दुर्घटनाले विश्वलाई दुखी बनायो ।

गत वर्षको मे १८ मा क्युवाको ‘फ्लाइट ९७२’ यात्रु विमान दुर्घटनाग्रस्त हुँदा ११२ जनाको मृत्यु भएको थियो । त्यसैगरी, प्रयोगमा ल्याइएको केही महिना नबित्दै नयाँ बोइङ–७३७ म्याक्स ८ विमान गत नोभेम्बर २९ मा इन्डोनेसियाको उत्तरी तटीय क्षेत्रको जाभा समुद्रमा खसेको थियो ।

उक्त विमानमा सवार सबै १८९ यात्रुको मृत्यु भएको थियो ।  यस्तै, गएको १० मार्चका दिन बोइङ ७३७ म्याक्स ८ मोडलकै इथियोपियाली विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १५७ यात्रुको मृत्यु भएको थियो ।

अमेरिकी विमान कम्पनी बोइङ्ग ७३७ म्याक्सका मोडलका विमान एकपछि अर्को दुर्घटना भएपछि यस कम्पनीको विमानको पाठपूर्जामाथि सुरक्षाको प्रश्न उठेको छ । यसको सुरक्षाको सुनिश्चित नहुँदासम्मका लागि विश्वका ५० भन्दाबढी देशले यस बोइङ्गका विमान सञ्चालनमा नल्याउने घोषणा गरिसकेका छन् ।

विश्वकप फुटबलको २१ औँ संस्करण एक्काइसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुम्यो । फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । फ्रान्सले सुनको ट्रफिसँगै चार अर्ब १० करोड रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

विश्वकप फुटबल २०१८ को कुल पुरस्कार राशी ४३ अर्ब रुपैयाँ रहेको थियो । एक महिनासम्म चलेको प्रतियोगितामा ३२ देशका ७३६ खेलाडी प्रतियोगितामा सहभागी थिए । क्रोएसियाका कप्तान लुका मोड्रिक फिफा विश्वकप २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

श्रीलंकामा असफल सत्ता फेरबदल श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गत अक्टोबर २६ मा बहालवाला प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरी पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरेपछि झण्डै सात हप्ता राजनीतिक सङ्कट उत्पन्न भयो ।

बाहलवाला प्रधानमन्त्रीलाई बर्खास्त गर्ने र अर्को व्यक्तिलाई नियुक्त गर्ने उनको दुवै निर्णय अवैध भएको भन्दै अदालत र संसदले खारेज गरिदिएपछि अहिले फेरि पुरानै अवस्थामा पुगेको छ । अवैध कदम अहिलेको संसारमा टिक्न सक्दैन भन्ने सन्देश दिनेगरी टुङ्गिएको यो घटना यस वर्ष दक्षिण एसियामा चर्चामा रह्यो ।

पुटिन चौथो कार्यकालका लागि निर्वाचित रुसको राष्ट्रपतिका रुपमा भ्लादिमिर पुटिन यस बर्ष चौथो कार्यकालका लागि निर्वा्चित हुनु अर्को चर्चाको विषय बन्यो । गत मार्च १८ मा भएको निर्वाचनबाट उनी अर्को ६ वर्षे कार्यकालका लागि राष्ट्रपति बनेका हुन् ।

रुसमा एउटै व्यक्ति दुई कार्यकालमात्र राष्ट्रपति बन्न पाउने कानुनी प्रावधान रहेकाले पुटिन विगत १८ वर्षदेखि रुसमा राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा सत्तामा छन् । अहिले ६५ वर्ष पुगेका पुटिनको यो कार्यकाल सन् २०२४ सम्मको जोड्दा उनको शासन २५ वर्षको हुनेछ ।

ब्रेजिक्टमै अल्झियो बेलायत युरोपेली संघसँग बाहिरिने निर्णय गरेको बेलायतले त्यसको प्रक्रियालाई टुङ्गोमा पु¥याउन निकै मेहेनत गर्नु परेको छ ।

प्रधानमन्त्री थेरेसा मेले नयाँ अन्तर्रा्ष्ट्रिय सम्बन्धहरुमा धेरै ध्यान दिन भ्याएकी छैनन् भने ब्रेक्जिट मामिलामा दुई जना विदेश मन्त्रीसहित अन्य केही मन्त्री र वरिष्ठ अधिकारीहरुले समेत उनलाई साथ दिएनन् ।

सन् २०१६ को जुनमा भएको जनमत सङ्ग्रहमा ५२ प्रतिशत अर्थात् १ करोड ७४ लाख मतदाताले ब्रेक्जिटको पक्षमा मतदान गरेका थिए ।

४८ प्रतिशत अर्थात् १ करोड ६१ लाख मतदाताले भने बेलायत (युरोपियन युनियन) इयूकै सदस्य हुनुपर्छ भन्ने मत दिएका थिए । साढे दुई बर्ष बितिसक्दा पनि इयू छाड्ने प्रक्रिया टुङ्गिन्छ भन्ने विश्वासमा नै अझै पनि अनिश्चितामा बेलायत छ ।

भेनेजुएला संकट यसै वर्षदेखि भेनेजुएलाको राजनीतिक संकट गहिरिएको छ । राष्ट्रपति निकोलस मादुरो विरुद्ध जारी प्रदर्शनका क्रममै विपक्षी नेताले खुआन गोइदोले आफुलाई कार्यकारी राष्ट्रपछि घोषणा गर्नु, गोइदोको घोषणामा अमेरिका लगायत दक्षिण अमेरिकी देशले समर्थन गर्नु र त्यस लगत्तै मादुरोले अमेरिकासँगको कुटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गर्नु जस्ता घटनाले भेनेजुएलाको राजनीतिक संकट गहिरिँदै गएको थियो ।

यद्यपि, विपक्षी नेता गोइदोमाथि वित्तीय अपराध र सम्पत्ति शुद्धिकरणमा कसुर देखाउँदै १५ वर्षका लागि कुनै पनि सार्वजनिक पद धारण गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । चर्चामा चिनियाँ नेतृत्व  यसै वर्ष एक अध्ययन प्रतिवेदनले चीनको विश्वव्यापी नेतृत्व पछिल्लो दशककै उच्च रहेको देखायो, जसले चिनियाँ राष्ट्रपति शी जीनपिङको व्यक्तिलाई अझ उज्यालो बनाएको छ ।

यस सम्बन्धमा विश्वमा उदाउँदो शक्ति सम्पन्न राष्ट्र चीनले उनको प्रतिस्पर्धी देश अमेरिकालाई उछिनेको चर्चा निक्कै चल्यो ।  त्यसैगरी, यसवर्ष अमेरिका र चीनको व्यापार युद्ध, सिरिया, यमन, अफगानिस्तान आदिमा जारी द्वन्द्व,  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको म्याक्सिको सीमामा पर्खाल लगाई छाड्ने अडान आदी विषयले पनि चर्चा पाएको छ ।

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ९२ बर्षको उमेरमा फेरि देशको नेतृत्वमा आएका छन्, भने पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारको आरोपमा काराबासमा छन् ।

त्यस्तै, बंगलादेशमा प्रधानमन्त्री शेख हसिनालाई चौथो पटक कार्यकाल सम्हाल्दै गर्दा उनकी चिरप्रतिद्वन्द्वी खालिदा जियाले ७३ बर्षको उमेरमा अस्वस्थ अवस्थामा जेलभित्रै छटपटारहनु परेको छ ।

भारतमा लोकसभा चुनावले सुरु भएको छ, जसमा भारतीय जनता पार्टीका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी पार्टी कांग्रेसका अध्यक्ष राहुल गान्धीको कडा प्रतिस्पर्धाले चुनावी माहोललाई ताताएको छ ।

भूकम्प र सुनामीको कहर यस वर्ष सबैभन्दा ठूलो विनासकारी घटनाहरुको रुपमा इन्डोनेसियाको भूकम्प र सुनामीलाई लिन सक्निछ ।

वर्ष २०१८ को सेप्टेम्बर अर्थात् असोज १२ गतेको दिन आएको ७.४ म्याग्नीच्युडको भूकम्पले झण्डै साढे चार हजार मानिसको ज्यान गएको थियो भने हजारौँ बेपत्ता बनेका थिए ।

त्यसैगरी, मोजाम्बिकमा आएको ‘इडाई’ नामक सामूद्रिक आँधीबाट एक हजारबढीले ज्यान गुमाएको छन् । जिम्बाब्वेको छिमेकीमा रहेका नगरहरुमा सयौँको सङ्ख्यामा मानिसको मृत्यु हुनुको साथै अन्य २०० व्यक्ति वेपत्ता बने ।

ब्रुनाईमा क्रुर कानून लागू  दक्षिण पूर्वी एसियाली देश ब्रुनाइले समलैङ्गिक सम्बन्ध विरुद्ध क्रुर कानून ल्याएको छ ।  व्यभिचारी र समलिङ्गी यौन सम्बन्ध राख्नेमाथि ढुङ्गाले हिर्काएर मारिने समेतका कडा व्यवस्थाहरु समेटिएको नयाँ इस्लामिक (शरिया) कानुन लागू भएको छ, जसको चौतर्फी आलोजना भइरहेको छ ।

न्यूजिल्याण्ड गोलीकाण्ड न्यूजिल्याण्डमा दुई मस्जिदमा ५० जनाको मृत्यु हुने गरी एकै जनाले गरेको गोलाबारीपछि न्यूजिल्याण्डको बन्दुक कानुन परिर्वत भएको छ ।

न्यूजिल्याण्डमा सबै प्रकारका अर्धस्वाचालित हतियारमाथि प्रतिबन्ध लगाइएको घोषणा गरिएको छ ।  यमन युद्धबिराम संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा यमनको होडेडामा हुथी विद्रोही र सरकारबीच डिसेम्बर १९ मा युद्धबिराम भएको छ । दश हजारभन्दा बढीको मृत्यु र लाखौं मानिस विस्थापित गराइसकेको यमन गृहयुद्धले मानवीय सङ्कट निम्त्याएको राष्ट्रसघंको भनाइ छ ।

इरानी आणविक सम्झौताबाट अलग–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक सम्झौताप्रति इरानी सत्ता जवाफदेही नरहेको भन्दै मे ८ मा फिर्ता हुने तथा इरान विरुद्ध आर्थिक नाकाबन्दी लगाउने घोषणा गरे । अमेरिकाले प्यालेस्टिनीको विरोधका बाबजूद मे १४ मा इजरायलमा रहेको राजदूतावास जेरुसेलममा स्थानान्तरण गरेको थियो ।

अमेरिकी सेनाको फिर्ती  सिरियामा तैनाथ दुई हजार अमेरिकी सेनालाई इस्लामिक स्टेट विरुद्धको युद्ध समाप्त भएको भन्दै डिसेम्बर १९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना फिर्ता लैजाने घोषणा गरे । तर, ईराक र अफगानिस्तानमा रहेका अमेरिकी सेनाको फिर्ती कहिले हुन्छ भन्ने अन्यौल कायमै छ ।  (एजेन्सीको सहयाेगमा)

 

ताजा अपडेट