राष्ट्रिय गौरवका आयोजना निमार्ण कार्यमा सरकारकै लापरबाही, कुनै पनि काम निर्धारित समयमा सम्पन्न हुन सकेनन्



काठमाडौं, ३० चैत । मुलुकको भौतिक पूर्वाधार र राष्ट्रिय गौरवका आयोजना निमार्णमा सरकारको लापरबाही भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

कार्यान्वयन क्षमताको अभाव, कमजोर ठेक्का व्यवस्थापन, अन्तरनिकाय समन्वयको कमी लगायत विभिन्न कारणबाट आयोजना निमार्णमा ढिलाई भएको महालेखाले आफ्नो ५६औं वार्षिक प्रतिवेदनमा ठहर गरेको हो।

राष्ट्रिय गौरवका आयोजनाहरु मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी आयोजना, बुढीगण्डकी जलविद्युत आयोजना, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बबई सिँचाई आयोजना, हुलाकी लोकमार्ग आयोजना लगायत आयोजनाहरु निर्धारित समयमा सम्पन्न हुन सकेका छैनन्।

पश्चिम सेती जलविद्युत आयोजनाको काम शुरु नभएको एवं दोस्रो अन्तराष्ट्यि विमानस्थल निजगढ, काठमाडौँ तराई मधेस फाष्ट ट्र्याक, बुढीगण्डकी जलविद्युत आयोजना, उत्तर दक्षिण लोकमार्ग काली गण्डकी र कर्णालीको समग्र भौतिक प्रगति १५ प्रतिशतभन्दा न्यून रहेको महालेखाले उल्लेख गरेको छ।

संगठित संस्थाको लेखापरीक्षण यो वर्ष ४३ संस्थाको बक्यौतासमेत ७८ आर्थिक वर्षको लेखापरीक्षण गर्नुपर्नेमा ३६ संस्थाको ५४ आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न भएको महालेखाले जनाएको छ।

सम्पन्न ३६ मध्ये ४५ आर्थिक वर्षको अन्तिम प्रतिवेदन जारी भई ७ संस्थाको ३३ आर्थिक वर्षको बाँकी रहेको उल्लेख छ।

समयमा लेखापरीक्षण नगराउने संस्था र पदाधिकारीहरुलाई जिम्मेवार बनाई आवश्यक कारबाही गरिनुपर्ने उल्लेख गरेको छ।

 

ताजा अपडेट