टावरलाई खबर नगर्दै विमान दुर्घटनामा परेको खुलासा !



काठमाडौं । लुक्लाबाट रामेछापका लागि उडान भर्दै गरेको समिट एयरको विमान उडान भरेको सूचना रामेछाप विमानस्थल टावरलाई खबर नगर्दै दुर्घटनामा परेको खुल्न आएको छ।

विमान रनबाट करिब २ सय मिटर अगाडि पुगिसकेको अवस्थामा हेलिप्याडतर्फ चिप्लिएर दुर्घटना भएको लुक्ला विमानस्थल कार्यालयको भनाइ छ। विमान दुर्घटनास्थलमा २ जना र उपचारको क्रममा थप १ जनाले ज्यान गुमाइसकेका छन्।

विमान दुर्घटना स्थलमा को–पाइलट र प्रहरी असईको निधन भएको थियो भने एक असईको ग्रान्डीमा उपचारको क्रममा निधन भएको हो। अन्य ३ को भने उपचार भइरहेको छ।

विमानमा रहेकी एयरहोस्टेस भने सामान्य घाइते भएकी छिन्। त्यस्तै, समिट एयर र मनाङ एयरका एक(एक पाइलट भने गम्भीर घाइते भएका छन्।

कार्यालयले ४ जना घाइतेलाई काठमाडौं पठाएको थियो। उपचारका क्रममा घाइते एक जनाको मृत्यु भए पनि अन्य तीन जनाको भने उपचार भइरहेको छ।

विमानमा २ जना चालक दलका सदस्य तथा एक परिचारिका मात्रै सवार थिए। विमानले हेलिप्याडका पार्किङ गरिरेहको मनाङ एयर र श्री एयरको विमानलाई ठक्कर दिएको थियो। दुर्घटनाबाट विमान र मनाङ एयरको हेलिकोप्टर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने श्री एयरको हेलिकोप्टरमा सामान्य क्षति पुगेको विमानस्थल कार्यालयले जनाएको छ।

ताजा अपडेट