Sat. Apr 20th, 2019

मन्त्रिपरिषद्को बैठकले गर्यो ३ सचिवको सरुवा गर्ने निर्णय, को कहाँ सारिए

काठमाडौं, ०३ बैशाख ।  सरकारले ३ जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ ।

सचिव घिमिरे गत माघ ९ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फ सरुवा भएका थिए।

योसँगै अब स्वास्थ्य मन्त्रालयमा एक मात्र सचिव रहने भएका छन्। यसअघि घिमिरेसहित पुष्पा चौधरी पनि स्वास्थ्य सेवातर्फ सचिवमा बाहल थिइन्।

स्वास्थ्य मन्त्रालयमा यस पटक ६ वर्षपछि दुई सचिवको बाहली भएको थियो। कार्य व्यवस्थापन गर्न २ सचिव खटाइएको भनिए पनि घिमिरेलाई करिब ३ महिनामै अर्को मन्त्रालयमा सरुवा गरिएको छ।

एउटै मन्त्रालयमा दुई सचिव रहँदा जिम्मेवारीमा विवाद रहँदै आएकोमा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दुवैलाई फरक-फरक क्षेत्रको कार्य विभाजन गरिदिएका थिए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पछिल्लो एक महिनादेखि सचिवविहीन थियो।

यस्तै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा खटाइएको छ ।

मन्त्रालयका तत्कालीन सचिव दिनेशकुमार थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस भएसँगै सचिव पद रिक्त रहेको थियो।

हालै सचिवमा बढुवा भई पदस्थापन हुन बाँकी डा हरिप्रसाद पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जिम्मेवारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *