राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापासहित एक दर्जनबढी कार्यकर्ता प्रकाउ



काठमाडौँ, ४ बैशाख । भू-माफियाले कब्जा जमाएको बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार बिहान सरकारी जग्गा भू-माफियाको कब्जामा परेपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास पछाडि रहेको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापासहित एक दर्जन बढी नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास र सभामुखको निवास पछाडि रहेको सरकारी जग्गा भू-माफियामार्फत् सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेलको नाममा समेत बिक्री गरिएपछि त्यसको विरोधमा विवेकशील नेपाली दलका नेता, कार्यकर्ता स्थानीयसहित उत्रिएका हुन्।

उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिनेक्रममा उनीहरुले सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न पाउने नागरिकको हकमाथि हनन् गरिएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।

विवेकशील नेपाली दलले प्रधानमन्त्री निवास छेउकै सरकारी जमिन भू-माफियाले कब्जामा लिएको विरोधमा प्रदर्शन सुरु गरेको हो। देशभरका सरकारी जग्गा भू-माफियाको कब्जामा पर्न नदिन सबै सरकारी जग्गामा राष्ट्रिय झण्डा गाड्ने अभियान सञ्चालन गर्नु परेको दलका अध्यक्ष थापाले जानकारी दिए।

दलका नेता, कार्यकर्ताहरुले बालुवाटारमा रहेको १ सय १४ रोपनी सो जग्गा भू-माफियाबाट फिर्ता लिएर नागरिकका लागि उपयोग गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरुले सरकारी जग्गा नेताहरुको नाममा आएको पाइएको उल्लेख गर्दै ‘नेता हुन की भू-माफिया?’ भनि प्रश्न पनि गरेका थिए।

 

ताजा अपडेट