व्यापार व्यबसायीका लागी खुसीको खबर, धितो बिनानै पाँच करोड सम्म लिन पाइने ब्याज बार्षिक ५.३७ प्रतिशत मात्रै



काठमाडौँ, ४ बैशाख । पैसा नभएर चाहेको व्यवसाय गर्न पाउनु भएको छैन ? वा धितो नभएकोले बैंकबाट ऋण लिन सक्नु भएको छैन । यस्तै अवस्थामा हुनुहुन्छ भने तपाइको लागि खुशीको खबर छ । र, व्याज पनि अहिले बजारमा चलेकोभन्दा आधा नै पर्छ ।

प्रभु बैंकले धितो दिन नसक्नेहरुका लागि परियोजना धितोमा (तपाइले गर्न चाहेको व्यवसायलाई नै धितो मानेर) ऋण दिने योजना ल्याएको छ । पाँच करोड रुपैयाँसम्म ऋण दिने यस्तो योजनाको ब्याज बार्षिक ५.३७ प्रतिशत मात्रै पर्छ ।

प्रभु बैंकले सरकारको सरकारले कार्यान्वयनमा ल्याएको सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि व्यवस्था बमोजिम यस्तो ऋण दिन लागेको हो । सस्तो ब्याजमा पाइने यस्तो कर्जा व्यवसायिक कृषि, शिक्षित युवा बेरोजगार, बैदेशिक रोजगारीबाट फर्केका युवा, दलितको लागि कर्जा र उच्च र प्राविधिक शिक्षा अध्ययनको लागि कर्जा योजना छन् ।

बैंकले पत्रकार सम्मेलन गरी सोको जानकारी दिएको हो । बैंकले आफ्नो औसत ब्याज ९.३७ प्रतिशतमा २ प्रतिशत प्रिमियम जोड्ने छ । यसो गर्दा बैंकको ब्याज ११.३७ प्रतिशत पुग्नेछ ।

तर, सरकारले २१ भदौ २०७५ मा पारित गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि’मा यस्तो कर्जामा सरकारले ६ प्रतिशत ब्याज दिने उल्लेख छ । सोही कारण बैंकको ब्याज ११.३७ प्रतिशत भएपनि ऋणीले जम्मा ५.३७ प्रतिशत मात्रै तिर्दा हुने भएको हो ।

बैंकले व्यवसायिक कृषि कर्जा योजनामा ५ करोड रुपैयाँसम्म ऋण दिनेछ । यस्तै श्रमशील कर्जा योजनामा १० लाख रुपैयाँभन्दा बढी ऋण लिनको लागि भने परियोजनाको व्यवसायिक सम्भावना नै धितो हो । राम्रो सम्भावना देखिएका परियोजनालाई बैंकले विनाधितो ऋण दिनेछ ।

बैंकले १० लाख रुपैयाँभन्दा बढी ऋण लिनको लागि संस्था हुनै पर्ने र १ करोड रुपैयाँभन्दा बढीको लागि कम्पनी दर्ता भएको हुनुपर्ने शर्त राखेको छ ।

शिक्षित युवा बेरोजगार कर्जाको लागि बैंकले उज्जल कर्जा योजना ल्याएको छ । यो योजनामा योग्य हुनको लागि स्नातक तहसम्मको अध्ययन भएको र ४० बर्ष उमेर ननाघेको व्यक्ति हुनुपर्नेछ ।

विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउने सरकारी योजना सफल पार्न बैंकले हातेमालो कर्जा योजना ल्याएको छ । यो योजनामा विदेशबाट फर्केका व्यक्तिले १० लाख रुपैयाँसम्म ऋण विनाधितो पाउने छन् । यस्तो कर्जा लिने व्यक्तिसँग विदेशको पीआर तथा ग्रीन कार्ड हुन नहुने र विदेशबाट फर्केको ३ बर्ष ननाघेको हुनुपर्ने शर्त राखिएको छ ।

बैंकले महिला उद्यमीको लागि उजेली कर्जा योजना ल्याएको छ । यो योजनामा ५ बर्षको लागि १५ लाख रुपैयाँसम्म विनाधितो ऋण पाइनेछ ।

बैंकले दलित समुदायको लागि कर्मवीर कर्जा योजना ल्याएको छ । यो योजनामा ५ बर्षसम्मको लागि १० लाख रुपैयाँसम्म ऋण पाइनेछ । यस्तै उच्च र प्राविधिक शिक्षा अध्ययनको लागि बैंकले ५ लाख रुपैयाँसम्म कर्जा दिने जनाएको छ ।

 

ताजा अपडेट