पृथ्वीनारायण शाहले जोडेको देशमा मगन्तेनारायण र भरौटेनारायणको राज    



काठमाडौँ । सगरमाथा, बुद्ध, र गोर्खाली, यी तीनै विषयलाई नेपालको पहिचानको रुपमा जन्माउने पृथ्वीनारायण शाह हुन् भन्ने कुरामा कसैको दुई मत हुन सक्दैन ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए सगरमाथा शायद चीनमा पर्थ्यो होला, बुद्ध भूमि लुम्बिनी भारतमा पर्ने थियो होला, र गोर्खा र गोर्खाली भन्ने शब्द एउटा दुर्गम गाँउको पाखा पर्वतको कुना कन्दरामा कता कता हराउने थियो होला ।

अझ भन्ने हो भने पृथ्वीनारायण शाहले नेपाल एकीकरण समयमा नगरेको भए यी ससाना राज्यहरु दुईतर्फ अवस्थित विशाल शक्तिशाली माछाहरुका मुखका आहारा हुने थिए ।

नेपाल भन्ने शब्द पनि कतै सुन्नमा आउने थिएन। यसर्थ पृथ्वी नारायण शाहलाई नेपालको राष्ट्रपिता र राष्ट्र माताको रुपमा बिभुषित गर्दा पनि उनलाई दिने सम्मान होचो नै हुन्छ  भन्दा अत्युक्ति हुँदैन।

अब कुरा गरौँ सगरमाथाको:   

कुनै विदेशीलाई आफ्नो परिचय दिनु पर्दा र त्यस्को लागि विश्व मानचित्रमा नेपाल कहाँ पर्छ भनेर पहिल्याउनु पर्दा हामी माउन्ट एवरेस्टको नाम लिन्छौ, मेरो देश सगरमाथाको देश हो भनेर गर्वले छाती फुलाउछौ किनकि संसारमा यस्तो अद्भुत सर्वोच्च शिखर अन्यत्र कहीँ कतै छैन।

सगरमाथामाथि के गर्व गर्नु, त्यो कुनै नेपालीले बनाएको होइन, त्यो एउटा प्रकृतिको देन हो जुन संयोगले नेपालको भूभागभित्र पर्न गएको हो भन्ने तर्क आउन सक्छ, तर त्यसो होइन ।

त्यसको जवाफका लागि हामीले फेरी पृथ्वी नारायण शाहको नेपाल एकिकरणको सफलतालाई नै सम्झनु पर्छ जसमा हामी सबै नेपालीको पुर्खाको पसिना परेको छ र त्यो सफल अभियानप्रति हामी अवश्य गर्व गर्न सक्छौं ।

अब गौतम बुद्धको कुरा:    

नेपालका विषयमा गर्व गर्ने अर्को विषय हो भगवान गौतम बुद्ध । नेपालको लुम्बिनीमा शाक्य राजाको वंशजका रुपमा सिद्धार्थ गौतम बुद्धको जन्म भएको इतिहास छ । आज बुद्धको दर्शन, ज्ञान र पथ भारत वर्ष संसारभरी फैलिएको छ ।

शान्तिका अग्रदुत बुद्धका विशाल गगनचुम्बी मुर्ती र संरचनाहरु एशियाका धेरै देशहरुमा शोभायमान छन्।  उनको दार्शनिक, वैज्ञानिक र तार्किक ज्ञानमा जति बैचारिक गहनता छ । त्यति नै सरलता, सहिष्णुता र सहजता पनि छ भन्ने कुरा यहाँ भनिरहनु पर्दैन ।

एकातर्फ अत्यन्त मनमोहक र विस्मयपूर्ण हिमवत श्रृंखला भएको र अर्कोतर्फ बुद्धको जन्मभूमि भएको यो सानो देश नेपाललाई हामीले शान्ति, योग, ध्यान, ज्ञान, र  आध्यात्मको केन्द्रको रुपमा स्थापित गर्न गाहारो देखिन्न जस्ले गर्दा युद्ध र अशान्तिले छट्पटिएका विकसित तर भौतिकवादी देशहरु पर्यटकीय दृष्‍टिकोणले आकर्शित होउन्। प्रत्येक वर्ष नेपाल भित्रिने पर्यटकमध्ये अधिक संख्या बुद्धको जन्मस्थलको कारणले हुने गरेको यथार्थ त छँदै छ ।

अब बीर गोर्खालीका कुरा गरौँ :    

गोर्खालीको पहिचानले नेपालभित्र हामी नेपालीहरुबीच त्यति ठूलो अर्थ नराख्न सक्छ तर विदेश जाने प्राय यस्तो नेपाली शायदै नहोला जस्ले आफुलाई गोर्खाली भन्न नरुचाओस् ।

भारत, युरोप, अमेरिका लगायतका देशहरुमा गोर्खाली शब्दले अनौपचारिक रुपमै भएपनि विशेष सम्मान र स्थान पाउदै आएको छ ।

यो गोर्खालीको पहिचान भारत स्वतन्त्र भएपछि भारतीय वा बेलायती सेनामा काम गर्न जाने नेपालीहरुको कारणले मात्र रहन गएको होइन किनकी आधुनिक समयमा हाम्रा गोर्खाली दाजु भाइहरु विदेशी सेनाको एक अंग भएर लड्दा आफ्नो पहिचान र अस्तित्वको लडाईं लडेका पनि होइनन्।

त्यो हामीहरुको छुट्टै वाध्यता हो । तिमीहरु त साहसी हौ, इमान्दार जाति हौँ, भनेर हौस्याइदिएका कारणले हाम्रो वीरताको प्रदर्शन भएको र त्यसैबाट हामी वीर गोर्खाली भएको सोचाइ राख्नु पर्याप्त हुँदैन होला। यसो भनिरहँदा विदेशमा सैनिकको रुपमा जाने  नेपाली दाजु भाइहरुलाई अवमूल्याङ्कन गर्न खोजिएको होइन, उहाँहरुले जे गर्नु भएको छ त्यो सम्मानजनक छ ।

हामीले बिर्सनु हुँदैन कि एउटा समय थियो जतिखेर हामीले हाम्रो आफ्नै लडाईं लडेका थियौँ र सम्पूर्ण संसारलाई कब्जा गर्ने अंग्रेजको सैनिकलाई आथ्थु आथ्थु पारेका थियौँ।आफ्नो देशमा आक्रमण गर्ने विदेशी शक्तिलाई वीरताका साथ पराजित गरेका कारणले गोर्खालीको ख्याति हुन गएको यथार्थ हामीले बिर्सनु हुँदैन र त्यो सेना पृथ्वीनारायण शाह कै थियो।

ताजा अपडेट