गोविन्द सिंहको निर्देशनमा ‘खलनायक’ २ बन्ने घोषणा, फिल्ममा देखिएलान त राजेश, विराज र निखिल ?



काठमाडौँ । पछिल्लो केही वर्षयता सुपरहिट फिल्मको सिक्वेल निर्माण हुने क्रम ह्वात्तै बढेको छ । चलेका फिल्मको सिक्वेल बनाउँदा कम जोखिम हुने भएकाले पनि निर्माताहरु यसतर्फ बढी आकर्षित भएको पाइन्छ । सिक्वेलहरुले बक्सअफिसमा राम्रो व्यापार पनि गरिरहेका छन् । तर, अधिकांश सिक्वेलहरु ब्याज खाने उद्देश्यबाट बढी प्रेरित भएको देखिएका छन् ।

केही वर्षदेखि नेपाली फिल्म क्षेत्रमा सिक्वेल फिल्मको एक किसिमले बाढी नै देखिएको छ । गएको वर्ष सयको आसपासमा फिल्म रिलिज भएका थिए । तर, सुपरहिट फिल्मको सिक्वेलहरुले मात्र बक्सअफिसमा राम्रो पैसा छाप्न सफल भए । यसबीच, फेरि एक सुपरहिट फिल्मको सिक्वेल निर्माण हुने भएको छ । मल्टीस्टारर फिल्म ‘खलनायक’ को सिक्वेल घोषणा भएको छ ।

निर्माता रोज राणाले निर्माण गरेको यो फिल्म करीब डेढ दशक अगाडि प्रदर्शनमा आएको थियो । ऋषि न्यौपाने निर्देशित फिल्ममा एक जमनाका तीन सुपरस्टार अभिनेता राजेश हमाल, विराज भट्ट र निखिल उप्रेतीको प्रमुख भूमिका थियो । फिल्ममा अभिनेत्री झरना थापा लिड हिरोइन थिइन् । सिक्वेलमा भने पुराना कलाकार नदोहोरिने निर्माता राणले जानकारी दिएका छन् ।

‘सम्भवतः पुराना कलाकारहरु कोही दोहोरिने छैनन् । अहिलेका चलेका कलाकारहरुकै अभिनय रहनेछ । यद्यपि, कलाकार फाइनल भने गरेका छैनौं ।’ ‘जय परशुराम’ र ‘मेरो पैसा खोई ?’ फिल्म निर्देशन समेत गरिसकेका निर्माता राणाले ‘खलनायक २’ को निर्देशनको जिम्मेवारी भने ‘रणवीर’ फेम्ड निर्देशक गोविन्द सिंह भण्डारीलाई सुम्पिएका छन् ।

साउनबाट छायांकन सुरु हुने फिल्मको कथा अहिले मौनता श्रेष्ठले लेखिरहेका छन् । यो फिल्मको पहिलो पार्टमा पनि उनकै कथा थियो । फिल्ममा एन.वी महर्जनको एक्सन रहनेछ ।

बिल्कुलै नयाँ कथामा निर्माण हुन लागेका कारण ‘खलनायक २’ मा विराज, निखिल र राजेशलाई दोहोर्‍याउन नसकिएको निर्माता राणाको भनाई छ । यो फिल्मको पहिलो पार्टमा विराज र निखिलबीच जबरजस्त एक्सन थियो ।

 

ताजा अपडेट