यस्ता छन् बर्डफ्लुबाट बच्न सकिने केही सरल र सहज उपाएहरु



काठमाडौं । नेपालमा पहिलोपटक मानिसमा बर्ड फ्लु फेला परेको पुष्टि भएको छ । काभ्रेका २१ वर्षीय युवकमा देखा परेको बर्ड फ्लु (एच फाइभ एन वान) का कारण उनको चैत १५ गते मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जानकारी गराएको हो ।

ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए । उनको र्‍यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो । तर, स्वासप्रस्वासमा समस्या भई चैत १५ गते उनको उपचारका क्रममा मृत्यु भयो । उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्‍यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएन।

त्यसपछि उक्त नमुना परीक्षणका लागि जापान पठाइएको थियो । उक्त नमुनाको नतिजा बैशाख १७ गते मंगलबार नेपाल आएको थियो । नमुनामा बर्ड फ्लु भएको उल्लेख थियो ।

यो घटनाले बर्डफ्लुबारे थप सतर्क हुनुपर्ने देखाएको छ। त्यसैले हामीले बर्डफ्लुबाट कसरी बच्ने भन्ने बारे केही जानकारी मुलक सन्देशहरु राखेका छौँ ।

बर्ड फ्लुबाट जोगिन यसो गर्नुहोस्

– नियमित रुपमा साबुन पानीले हात राम्रोसँग धुने बानी गर्ने।

– व्यक्तिगत सरसफाइमा ध्यान दिने।

– आफ्नो वरिपरिको वतावरण सफा राख्ने।

– बिरामी तथा मरेका कुखुरा तथा चराचुरुङ्गीबाट टाढा रहने।

– प्रत्यक्ष सम्पर्क भएका बिरामी व्यक्तिहरु तथा चराहरु नजिक देखिए वा आफूलाई बिसञ्चो महससु भएमा छिटो उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।

– बच्चाहरुलई मृत वा बिरामी पन्छीबाट टाढा राख्ने।

– कुखुराको काँचो मासु काँटछाँट गर्ने वा पकाउने मानिसले नांगो हात, खुला गरी मासु चलाउन हुँदैन । कम्तीमा पनि हातमा पञ्जा, मुखमा मास्क वा रुमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा यस रोगको जोखिम कम हुन्छ ।

यसबाहेक मासु काटकुट गरिसकेपछि हात राम्रोसँग साबुन पानीले सफा गर्ने, मासु तयार गर्दा प्रयोग गरिएका भाँडाकुँडा, औजार, अचानोलाई राम्रोसँग सफा गरी निर्मलीकरण तथा निसंक्रमण गर्नु पनि यस रोगको संक्रमणबाट बच्ने उत्तम उपाय हो।

– कुखुराको मासु राम्ररी पकाएर खाने (कम्तीमा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्छ)।

– जंगली तथा घरपालुवा पक्षी मरेको वा बिरामी भएको देखिएमा नजिकको पशुस्वास्थ्यकर्मी पशुस्वास्थ्य कार्यालयमा तुरुन्त जानकारी गराउने।

– इन्फ्लुएन्जाको कुनै पनि शंका लाग्नेबित्तिकै स्वास्थ्य संस्थमा सम्पर्क गर्ने र चिकित्सकको सल्लाह अनुसार गर्ने। चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्ने।

– मृत पक्षी र तिनीहरुको सुलीबाट टाढा रहने र सुरक्षित रुपमा गाड्ने प्रबन्ध मिलाउने।

ताजा अपडेट