लिच्छविकालीन सम्पदा मासेर व्यापारिक कम्प्लेक्स बनाउने अनुमति !



काठमाडौंं । सरकारी जग्गासमेत बेचेर खाने भूमाफियाहरू हिजोआज सम्पदातिर सल्किरहेका छन् । यतिबेला उनीहरूको आँखा असनको घडी घरमा छ । घडी घर भनेर चिनिने असन बजारको ऐतिहासिक ‘कोथुननी धार्मिक विहार’ मासेर त्यहाँ सपिङ कम्प्लेक्स बनाउने योजना अगाडि सारेको छ ।

यसरी सम्पदा बिक्री गर्ने भूमाफियाको जालो महानगरपालिकादेखि गुठी संस्थानसम्म फैलिएको देखिन्छ । त्यसैले ‘कोथुननी धार्मिक विहार’ मासेर त्यहाँ सपिङ कम्प्लेक्स बनाउने अनुमति दिएको भन्दै सम्पदा संरक्षणका अभियन्ता तथा स्थानीय ‘सम्पदा बिक्रीमा, बेच्ने गुठी संस्थान, साक्षी बस्ने महानगर, पुरातत्व बेखबर’ लेखिएको प्लेकार्ड बोकेर शुक्रबार विरोधमा उत्रिएका छन् ।

पुस्तौंदेखि भोगचलन र संरक्षण गर्दै आएको स्थानीय बज्राचार्य परिवारसँग करार सम्झौता कायमै रहेका बेला गुठी संस्थानले ‘बज्रयोगिनी सामान्य बहुउद्देश्यीय’ नामको कम्पनीसँग सम्झौता गरेर व्यापारिक कम्प्लेक्स बनाउने र २५ वर्ष भाडामा चलाउन दिने गरी सम्झौता गरेपछि स्थानीय सम्पदा बचाऊ अभियानमा लागेका हुन् ।

घडी घरसँग सम्बन्धित १४ परिवारमध्येका एक सजीव बज्राचार्य आफूहरूसँगको करार सम्झौताविपरीत पुरातात्विक, धार्मिक महत्वको सम्पदा बेच्ने काम भएकाले त्यसलाई रोक्न आफूहरू निरन्तर लागिरहने बताए ।

गुठी संस्थान अधिनस्थ असन बजारको कोथुननीमा अवस्थित वायु देवता गुठीको नाममा रहेका घरजग्गा, अशोक वृक्ष विहारको पुरातात्विक महत्वको लिच्छविकालीन अभिताभ बुद्ध रहेको घडी घर मासेर त्यहाँ व्यापारिक कम्प्लेक्स बनाउने सम्बन्धमा संस्थान, काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको बताइएको छ । राजधानी दैनिकमा खबर छ ।

ताजा अपडेट