देशभरको इन्टरनेट र टेलिभिजन सेवा बन्द गर्ने सेवा प्रदायकहरुकाे चेतावनी !



इन्टरनेट तथा टिभी सेवा प्रदायक समन्वय समितिले नेपाल विद्युत् प्राधिकरणले वृद्धि गरेको महसुल निकै चर्को भएको भन्दै विरोध जनाएको छ ।

समितिले प्राधिकरणले वृद्धि गरेको महसुल तिर्न नसक्ने भन्दै देशभरको इन्टरनेट र टेलिभिजन सेवा बन्द गर्ने भन्दै विरोध जनाएको हो । समितिले महसुल वृद्धिको विरोधमा टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको तारहरू काट्ने चेतावनी दिएको हो । प्राधिकरणले एकलौटी रूपमा वृद्धि गरेको भाडा दर पुनरावलोकन गर्न इन्टरनेट तथा टिभी सेवा प्रदायक समन्वय समितिले प्रधानमन्त्रीदेखि ऊर्जा, अर्थ र सञ्‍चारमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदा पनि आफ्ना मागहरूको सुनुवाइ नभएको जनाएको छ । टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणले नयाँ भाडा दरमा सम्झौता गर्न सात दिनको समय सीमा तोकेको थियो ।


उक्त समय सीमा आजै सकिएको हो । विद्युत् प्राधिकरणले एकलौटी ढङ्गमा २०७५ साउन १ देखि पोलमा तार टाङ‍्ने र अप्टिकल फाइबर बिछ्याएको भाडा दर ५०० प्रतिशतले वृद्धि गरेको र आफूहरूले तिर्नै नसक्ने सेवा प्रदायकहरूको भनाइ छ । इन्टरनेट सेवा प्रदायक सङ्घका अध्यक्ष भोजराज भट्टले राज्यले २० प्रतिशत बढाउनुपर्नेमा ५०० प्रतिशत बढाएको भन्दै राज्यलाई कालोबजारी ऐन लाग्ने बताए ।

नयाँ दर रेट नै पालना गरे इन्टरनेट तथा टिभी सेवा प्रदायकलाई थप ७५ करोड रुपैयाँ व्ययभार थपिने बताए । नेपाल केवल टेलिभिजन महासङ्घ, इन्टरनेट सेवा प्रदायक सङ्घ र डिश मिडिया नेटवर्क लिमिटेड यस समन्वय समितिमा रहेका छन् ।

ताजा अपडेट