अफगानी टेलिभिजन प्रस्तोताको गोली हानी हत्या !



अफगानी टेलिभिजन प्रस्तोताबाट राजनीतिमा प्रवेश गरेकी मिना मंगलको राजधानी काबूलमा शनिबार दिनदहाडै गोली हानी हत्या गरिएको छ । अफगानी राजनीतिज्ञ र महिला अधिकारकर्मीले उनको हत्याको सत्यतथ्यबारे छानबीन हुनुपर्ने माग गरिरहेका छन् ।

मुख्य कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले पत्रकारको हत्यारा जसरी पनि पत्ता लगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।पुलिसले यसबारे अनुसन्धान गरिरहेको छ तर उनको हत्याको पछाडि के उद्देश्य हुनसक्छ भनेर पत्ता लाग्न सकेको छैन ।

शनिबार गृहमन्त्रालयले जारी गरेको वक्तव्यमा अफगानिस्तानको संसदको सांस्कृतिक मामला आयोगमा सल्लाहकारको भूमिका निभाइरहेकी उनी काममा जाँदै गर्दा उनलाई गोली हानिएको बताइएको छ ।

अफगानिस्तानको सर्वोच्च अदालत एवं नागरिक समाजले उनको हत्याको गम्भीर अनुसन्धानको माग गरेका छन् । मंगलले ११ दिन अघिमात्रै आफ्नो फेसबुक पेजमा ज्यान मार्ने धम्की पाएको महिला अधिकारकर्मी वाहज्मा फ्रोगले ट्वीटरमा जानकारी दिइन् । धम्की किन दिइयो भनेर स्पष्ट जानकारी नपाएपनि पुलिस प्रवक्ताले रोयटर्सलाई पारिवारिक कलहमाथि पनि अनुसन्धान भइरहेको जानकारी दिए ।

ताजा अपडेट