राष्ट्रिय प्रसारणमा जोडियो माथिल्लो त्रिशूली ३ ‘ए’ को ३० मेगावाट विद्युत्



काठमाडौं । ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको पहिलो युनिट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको आयोजनाको पहिलो युनिटबाट उत्पादन भएको ३० मेगावाट विद्युत बिहीबारबाट प्रणालीमा जोडिएको हो ।

नुवाकोटको किस्पाङस्थित स्विचयार्डको कन्ट्रोल रुमको स्विच थिचेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोडिएको घोषणा गरे । अहिले आयोजनाले परीक्षण उत्पादन गरिरहेको छ । पहिलो युनिटको विद्युत त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत मातातीर्थ सबस्टेसनमा जोडिएको छ । शुक्रबार साँझसम्म लगातार पहिलो युनिटको परीक्षण उत्पादन हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ७२ घन्टाको परीक्षण उत्पादनपछि पुनः आयोजनाको बाँध, सुरुङ र विद्युतगृहका उपकरणको परीक्षण गरिनेछ । परीक्षणको चरण पूरा भएपछि आयोजनाले नियमित विद्युत उत्पादन सुरु गर्नेछ । पहिलो युनिटबाट व्यवसायिक उत्पादन सुरु भएपछि दोस्रो युनिटको ३० मेगावाटको परीक्षण सुरु हुनेछ ।

दोस्रो युनिट असारभित्र प्रणालीमा जोड्ने प्राधिकरणको लक्ष्य छ । त्रिशूली ३ ए को विद्युत प्रणालीमा थपिएपछि भारतबाट आयात हुने विद्युत परिमाण घट्ने घिसिङले बताए । आन्तरिक उत्पादन बढ्दा कुलेखानी जलाशयमाथिको लोड पनि कम हुने उनले बताए । राजधानीबाट नजिकै रहेको आयोजनाले सुख्खा याममा समेत ४५ मेगावाट विद्युत उत्पादन गर्ने हुँदा वितरण प्रणालीमा सुधार हुने उनको दाबी छ । उत्पादन हुने विद्युत काठमाडौंसम्म ल्याउन आयोजनाले नै २२० केभी त्रिशूली(काठमाडौं डबल सर्किट प्रसारण लाइन निर्माण गरेको छ ।

रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत यही प्रसारण लाइनमार्फत काठमाडौंसम्म आइपुग्नेछ । आयोजना सम्पन्न गर्न १२ करोड ५८ लाख डलर खर्च भएको छ । सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)ले निर्माण गरेको हो । सिजिजिसीसँग इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बा“ध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न १४ जेठ २०६७ ९२८ मे २०१०० मा ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको ठेक्का चाइना वाटर एण्ड इनर्जी (सिडब्लुई)ले पाएको थियो ।

ताजा अपडेट