चार घण्टासम्म भारतीयको घेराबन्दीमा सांसद कृष्ण केसी!



भारतसँग जोडिएका नयाँगाउँ, खयरभट्टीलगायतका गाउँको अवस्था र राज्यले सहयोग गर्नुपर्ने प्राथमिकताका योजना बनाउन आफ्नो निर्वाचन क्षेत्रमा पुग्नुभएकी प्रदेश सांसद कृष्ण केसी नमूनासहितको टोलीमाथि पनि आक्रमणको प्रयास भएको थियो । पक्राउ परेका देवीविनलाई छुटाउन माग गर्दै सांसदसहितको टोलीलाई भारतीय नागरिक र स्थानीयले झण्डै चार घण्टा घेराबन्दी गरेका थिए ।

प्रदेश सांसद केसी चढेको गाडीमा आगजनी प्रयाससमेत भएको थियो । “निकै डरलाग्दो अवस्थाको सामना गरियो”, झण्डै चार घण्टापछि प्रहरीले उद्धार गरेपछि टेलिफोनमा कुराकानी गर्दै सांसद केसीले भन्नुभयो, “अहिले म केही कुरा बोल्न र भन्न सक्ने अवस्थामा छैन ।” स्थलगत अनुगमनमा गएका बेला आफूमाथि भएको आक्रमण प्रयासलाई ‘गम्भीरतापूर्वक लिएको’ सांसद केसीको भनाइ छ ।

सांसद केसीसहित टोलीलाई घेराबन्दी पारेपछि सशस्त्र प्रहरीले कडा सुरक्षा दिएर सांसद र गाउँपालिकाका प्रमुखलाई झण्डै चार घण्टासम्म गाउँपालिकाको कार्यालयभित्र राखेको थियो । राति १० बजेपछि वडाध्यक्षको गाडीमा सांसद केसीको टोलीलाई भगवानपुर प्रहरीले सुरक्षा दिएर आफ्नो कार्यालयमा पुर्‍याएको थियो ।

सीमा क्षेत्रको स्थलगत फर्किएका प्रदेश सांसदसहित नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहमाथि पनि आक्रमण प्रयास भएको थियो । “मेरा कुरा पनि सुनेनन्, धेरै दुःख लागेको छ”, रासससँग टेलिफोनमा कुराकानी गर्दै अध्यक्ष शाहले भन्नुभयो, “सामान्य घटनामा भारतीय घुसपैठ भएर गम्भीर बन्यो ।”

उहाँले छानबिनपछि सत्यतथ्य पत्ता लाग्ने आश्वासन दिँदा पनि सुनुवाइ नभएकामा दुःख व्यक्त गर्दै भन्नुभयो, “कुरै नसुनेर जबर्जस्ती गर्न खोजियो ।” उहाँले जायज मागका पक्षमा कानून, समाज र आफू पनि साथमै रहेको पटकपटक आग्रह गर्दा पनि उल्टै ढुङ्गामुढा गर्न थालेपछि प्रहरी बल प्रयोग गर्न बाध्य भएको थियो । घटना भएको क्षेत्र जिल्लाको दुर्गम क्षेत्र मानिने नरैनापुर पूर्वी–दक्षिणी सिमानामा पर्छ ।

ताजा अपडेट