सिन्धुपाल्चोकमा झाडापखलाको महामारी, एकै गाउँमा ५० भन्दा बढी बिरामी



काठमाडौँ । सिन्धुपाल्चोकको बलेफीमा झाडापखलाको महामारी फैलिएको छ । बलेफी गाउँपालिका ५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएपछि एकै गाउँमा ५० भन्दा बढी बिरामी परेका छन् ।

बिरामीको खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिएका छन् । अस्पतालमा बिरामीको चाप बढेपछि एउटै शैयामा ३ जना राखेर उपचार गराइएको छ । बिरामी हुनेमा विन्जेलको मुलाबारीका भुजेलहरु बढी रहेक छन् ।

शुक्रबार स्थानीय गोपीकृष्ण भुजेलको छोरीको विवाह भएको र विवाहमा भोज खाएपछि झाडापखलाको महामारी फैलिएको हो । विषाक्त खानाको कारण झाडापखलाको प्रकोप फैलिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । दूषित पानीको कारण महामारी फैलिएको हुन सक्ने अनुमान लगाइएको छ ।

झाडापखलाको कारण केहीको अवस्थामा क्रमिक सुधार आएको छ भने केहीको अवस्था गम्भिर रहेको छ । गाउँबाट बिरामीलाई अस्पताल लैजाने क्रम जारी रहेको छ । गम्भिर अवस्था भएका केही बिरामीलाई थप उपचारको लागि धुलिखेल र काठमाडौँ शिक्षण अस्पताल पठाइएको छ ।

ताजा अपडेट