उपत्यकामा अपराध बढ्दो, एक वर्षमा १० हजार भन्दा बढी मुद्दा दर्ता 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २४, शुक्रबार  
उपत्यकामा अपराध बढ्दो, एक वर्षमा १० हजार भन्दा बढी मुद्दा दर्ता 

काठमाडौँ । विगतका वर्षको तुलनामा काठमाडौँ उपत्यकामा अपराध बढ्दै गएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आव २०७५/०७६ मा अपराधको सङ्ख्यामा वृद्धि भएको हो ।

उपत्यकाअन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुरमा आव २०७४/०७५ मा आठ हजार ३८५ मुद्दा दर्ता भएकामा आव २०७५/०७६ मा उक्त सङ्ख्या बढेर १० हजार १५९ मुद्दा दर्ता भएको थियो । यो अघिल्लो वर्षको तुलनामा २१ दशमलव १६ प्रतिशतले बढी हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली बढ्दो जनसङ्ख्या र प्रहरीको सक्रियतासँगै उपत्यकामा अपराधको सङ्ख्या बढेको बताउँछन् ।  ‘आव २०७५/०७६ मा काठमाडौँमा आठ हजार ४६०, भक्तपुरमा ६७९ र ललितपुरमा एक हजार २० मुद्दा दर्ता भएको थियो’, उनी भन्छन् ।

मुलुकको राजधानी काठमाडौँ उपत्यकामा देशभरका मानिस आएर बसोबास गर्ने ठाउँ भएकाले पनि यहाँ धेरै अपराध हुने गरेको उनको भनाइ छ ।  नेपाल प्रहरीले उपत्यकामा हुने अपराधलाई पत्ता लगाउन मुख्य त सिसिटिभीमार्फत अपराधी पत्ता लगाउँदै आएको छ ।

महानगरीय प्रहरी कार्यालयअन्तर्गत काठमाडौँमा १५, भक्तपुरमा तीन र ललितपुरमा तीन प्रहरी कार्यालयबाट मुद्दा चलाउने व्यवस्था गरिएको छ । उपत्यकाको सुरक्षाका लागि नेपाल प्रहरीले झण्डै १२ हजार जनशक्ति खटाएको छ । 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार