दिवंगत आत्मालाई सम्झिए, आज बाट गाई जात्रा मनाउन सुरु

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन ३१, शुक्रबार  
दिवंगत आत्मालाई सम्झिए, आज बाट गाई जात्रा मनाउन सुरु

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज बाट सुरु भएको छ । आफन्तको मृत्यु भएको एक वर्ष भित्र उनीहरुको सम्झनामा गाई वा मानिसलाई विभिन्न रुपमा सिंगार गरेर इलाका परिक्रमा गराउनुको साथै श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने प्रचलन रहेको छ । 

गाईको पुच्छर समाएर नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।  राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्रा सुरु भएको किवंदन्तीमा उल्लेख छ । 

यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौँ उपत्यकामा यसमा विशेष रौनक पाइन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुणरसका गीत पनि गाइन्छ ।

जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धानचामलको नमूना तथा काठमाडौँको ठमेलमा स्वर्ण र रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रम आयोजना गर्ने र पत्रपत्रिकामा पनि सामाजिक कूरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गर्ने गरिन्छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, संखुवासभा, इलाम, सुनसरी, मोरङ, पर्सा, मकवानपुर, कास्कीलगायत जिल्लाका शहरमा पनि मनाइन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर