images
images

बागलुङको गलकोट नगरपालिकामा बर्थिङ सेन्टर र स्वास्थ्य सेवाको सहज पहुँच पुगेपछि घरमै सुत्केरी हुनेको संख्या शुन्यमा

बागलुङ

जेष्ठ ७,

बागलुङको गलकोट नगरपालिकामा बर्थिङ सेन्टर र स्वास्थ्य सेवाको सहज पहुँच पुगेपछि दुई वर्षयता घरमै सुत्केरी हुनेको संख्या शुन्यमा झरेको छ ।
नगरपालिकाले वडा–वडामा बर्थिङ सेन्टर स्थापना गरेको छ । साथै बेला बेलामा स्वास्थ्य चेतनासम्बन्धी कार्यक्रम पनि सञ्चालन भएपछि घरमा सुत्केरी हुनेको संख्या शून्यमा झरेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो । नगरपालिकाको सबैभन्दा विकट मानिने वडा नम्बर–१० को रमुवामा पनि बर्थिङ सेन्टर स्थापनापछि सहज भएको छ । प्रवक्ता भण्डारीका अनुसार विगतमा स्वास्थ्य सेवाको अभावले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था थियो तर अहिले त्यस्तो समस्या छैन ।

स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई नगरपालिकाले चार हजार पाँच सय रुपैयाँ प्रोत्साहन भत्ता दिने गरेको छ ।गलकोटका कुनै पनि स्वास्थ्य संस्थामा सुत्केरी हुन नसके बागलुङ वा अन्य अस्पतालमा पठाउनु परेमा नगरपालिकाले यातायात खर्चसमेत दिने गरेको छ ।

गलकोट नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुशील पौडेलले स्वास्थ्य संस्थामा जाँच गर्न आउँदादेखि नै परामर्श दिने गरेको र चेतना बढेका कारण ‘होम डेलिभरी’ शुन्यमा झरेको बताउनुभयो । नगरपालिकाले २०७५ सालदेखि ‘नगरप्रमुख मातृ तथा शिशु पोषण कार्यक्रम’ सञ्चालन गर्दै आएको छ ।गलकोट नगरपालिकामा नौवटा बर्थिङ सेन्टर, सातवटा स्वास्थ्यचौकी, एउटा नगर अस्पताल, तीनवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र दुईवटा सहरी स्वास्थ्य केन्द्र रहेका छन् .