पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले १०८ किलोग्राम सुनको जलहरी निर्माणका क्रममा कुनै गडबडी नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “२४ सै घण्टा नेपाली सेनाको टोलीको निगरानीमा जलहरी बनाइएको हो। नेपाल राष्ट्र बैङ्कबाट सुन खरिददेखि जलहरी मन्दिरमा लगेर प्राणप्रतिष्ठा गरिन्जेल सेनाको टोलीले एकछिन पनि छोडेको छैन, अनि कसरी सुन हराएको हल्ला गरिँदै छ ?”
नेपाली सेनाका सूचना अधिकारी एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले अन्य निकायजस्तै नेपाली सेनाको टोली पनि जलहरी बनाउँदा खटिएको बताउनुभयो। उहाँले भन्नुभयो, “सेनाको टोली राष्ट्र बैङ्कबाट सुन किनेर निर्माण सम्पन्न हुँदासम्म खटिएको हो। अरू विषय चाहिँ बुझ्नैपर्छ।”
२०७७ माघ १२ गते तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथको दर्शन गर्न जानुभएको थियो। कोषले राखेको आगन्तुक पुस्तिकामा उहाँले ‘आज श्रीपशुपतिनाथको दर्शन गर्ने सुअवसर मिल्यो। स्वर्ण जलहरी बनाउने यहाँको समितिको इच्छा पूरा गर्न अपुग हुने रकम ३० करोड नेपाल सरकारका तर्फबाट तत्काल दिइने छ। आगामी महाशिवरात्रिसम्ममा सो जलहरी निर्माण भइसक्ने छ भन्ने विश्वास लिएको छु’ लेख्नुभएको छ। त्यसको दुई दिनपछि माघ १४ गते कोषका अध्यक्षसमेत रहनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा कोषको सञ्चालक परिषद्को बैठक बसेको थियो। डा खतिवडाका अनुसार उक्त बैठकले जलहरी निर्माणका लागि लाग्ने अनुमानित ८० करोडमध्ये ३० करोड रुपियाँ सरकारले व्यहोर्ने र बाँकी ५० करोड रुपियाँ कोषले उपलब्ध गराउने गरी महाशिवरात्रिअगावै सुनको जलहरी निर्माण गर्ने निर्णय भएको थियो।
उहाँले भन्नुभयो, “राष्ट्र बैङ्कबाट दुई पटक गरी १०३ किलो ७९३.१०० ग्राम सुन खरिद गरिएको हो। सुरक्षाको जिम्मा सरकारले नै खटाएको विमानस्थलस्थित कालीदल गणले लिएको थियो। सेनाकै रोहवरमा पशुपति क्षेत्रको रुद्रगारेश्वरस्थित ज्यासलमा जलहरी बनाइएको हो।”
डा खतिवडाका अनुसार जलहरी निर्माणका क्रममा परिषद् सदस्य, कर्मचारी, भण्डारी र सुरक्षा निकायका प्रतिनिधिहरूको रेखदेखमा मुचुल्का तयार गरिएको थियो। उहाँले भन्नुभयो, “मुचुल्काबमोजिम ९६ किलो ८२२ ग्राम सुनको जलहरी बनाएर चाँदीको जलहरीमाथि राखिएको र बाँकी रहेको १० किलो ९७६ ग्राम सुनमध्ये जलहरीको माथिल्लो भाग सुरक्षाका लागि रिङ, पेटी तथा सुनका किला बनाइएको छ। बाँकी रहेका टुक्राटाक्री सुन सेफमा राखिएको छ।स्रोत :गोरखापत्र