नयाँ मन्त्रीहरुको शपथ ५ बजे

काठमाडौं– राष्ट्रपति कार्यालय शीतलनिवासले नयाँ मन्त्रीहरुलाई पाँच बजे शपथको कार्यक्रम राखेको छ।

नयाँ गठबन्धन निर्माण भएसँगै नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले मन्त्री पठाउने तय भएको छ।

सत्ता गठबन्धनको भागबन्डामा एमाले ८, माओवादी ५, रास्वपा ४ र एकीकृत समाजवादी २ मन्त्री पाएका छन्। उक्त दलहरुले मन्त्रीको नाम पनि सिफारिस गरेको छ। उक्त सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने छन्।

हाल तीन जना मन्त्रीहरुले शपथ लिइसकेका छन्। उनीहरु जिम्मेवारीविहीन रुपमा बिना विभागिय मन्त्रीको रुपमा शपथ लिएका छन्। माओवादी केन्द्र र नेकपा एमालेले पुरानै मानिसलाई निरन्तरता दिएका छन्।

सरकारमा एमालेको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । एमालेले आफ्नो भागमा परेका ८ मन्त्रीको नाम टुंगो लगाएको छ । जसमा महासेठसहित पदम गिरी, हरि उप्रेती, दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाई पनि एमालेले मन्त्री बनाउने भएको छ ।

गिरीले कानून, न्याय तथा संसदीय मामिला, उप्रेतीले रक्षा, भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति, चौधरीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक, राईले भूमि व्यवस्था तथा सहकारी र अधिकारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेबारी पाउनेछन् । संघीय मामिला मन्त्रालय नेकपा एसको भागमा परे एमालेले तत्कालका लागि अधिकारीलाई सरकारमा सहभागी गराउनेछैन ।

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानसहित परराष्ट्र, वर्षमान पुन अर्थ र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्दैछन् । माओवादीले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीमा शक्तिबहादुर बस्नेत र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्मालाई निरन्तरता दिएको छ । पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली पनि कायमै रहनेछन् ।

रास्वपाले पनि थप तीन मन्त्री टुंग्याएको छ । रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने छन् । शिक्षामन्त्रीमा रास्वपाले सुमना श्रेष्ठलाई पठाउने भएको छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने छन् । उपसभापति डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने पक्का भएको छ । उनले यसअघि शपथ लिइसकेका छन् ।

यस्तै २ मन्त्रालय लिएर नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ । उसले सङ्घीय मामिला तथा सामान्य प्रशासन र शहरी विकास मन्त्रालय पाउने छ ।

गठबन्धनमा सहभागी भएको अर्को दल जनता समाजवादी पार्टीले भने तत्काल सरकारमा सहभागी नहुने यसअघि नै निर्णय गरिसकेको छ ।