प्रचण्डको नेतृत्वमा २० सदस्यीय मन्त्रिमण्डल, कसलाई कुन मन्त्रालय?

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् । यसअघि सोमबार उनले तीन मन्त्रीहरुलाई बिनाविभागीय जिम्मेवारीमा पठाएका थिए।

प्रधानमन्त्री दाहालले एमालेका ८, माओवादीका आफूसहित ६, रास्वपाका ४ र नेकपा समाजवादीका २ गरी २० सदस्यीय मन्त्रिमण्डल बनाएका हुन्।

प्रधानमन्त्री दाहालले बाँकी १९ जनाकै जिम्मेवारी पनि तोकेका छन्।

प्रधानमन्त्री सचिवालयका अनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री बनेका छन्। उनी एमालेका सचिव हुन्।
त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्। एमालेका दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने वर्षमान पुनले अर्थको जिम्मा पाएका छन्। शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन्  भने डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र समुना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन्।

त्यस्तै, नेकपा समाजवादीबाट भानुभक्त जोशी सामान्य प्रशासन र धनबहादुर बुढा सहरी विकासमन्त्री बनेका छन्।

एमाले र मा‌ओवादीसहितको नयाँ सत्ता गठबन्धनमा सहभागी हुन नेकपा एकीकृत समाजवादीले औपचारिक रुपमा सहमति दिएको थियो।

नेकपा एकीकृत समाजवादीको केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो।

राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरुको शपथ तयारी भइरहेको छ। समाजवादी सत्तामा मिसिएसँगै सत्ता गठबन्धन पाँचदलीय बनेको छ।

पाँच दलीय गठबन्धन मध्येको जसपामा भने मन्त्री बन्नेको नाम टुंगो लाग्न सकेको छैन। जसपामा अझै सरकारमा जाने विवाद बाँकी रहेकाले मन्त्रालयको टुंगो लाग्न नसकेको हो।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन निर्माण गर्ने रणनीति स्वरुप साना दलहरुलाई आफ्नो पक्षमा उभिन आग्रह गरेका छन् ।

डा सिके राउत नेतृत्वको जनमत पार्टी, रेसम चौधरी शंरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग सभापति देउवाले बुधबार भेटेर आफ्नो कित्तामा उभिन आग्रह गरेका हुन्।