१४ महिनामा तेस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बुधवार) प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । २१ फागुनमा नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् ।

 

प्रधानमन्त्री प्रचण्डले यही कार्यकालमा विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो । सत्ता गठबन्धन फेरबदलका कारण प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । गत वर्षको पुस १० मा एमाले उनी तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए ।

उनलाई सत्ता समीकरणमा रहेका ५ दलले विश्वासको मत दिने तयारी गरेका छन् । नयाँ गठबन्धनमा आबद्ध नेकपा (एमाले)का ७६, नेकपा (माओवादी केन्द्र)का ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, जनता समाजवादी पार्टी (जसपा)का १२ र नेकपा (एकीकृत समाजवादी)का १० गरी १५१ सांसदको समर्थन प्रधानमन्त्री प्रचण्डले पाउने निश्चित देखिएको छ ।

 

यसैगरी नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने तयारी गरेको छ । उद्यपि नागरिक उन्मुक्तिमा विश्वासको मत दिने/नदिनेबारे विवाद छ । अध्यक्ष रन्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत लिन ह्वीप जारी गरेकी छन् । तर, राउपाको रेशम चौधरी पक्षले भने प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

 

प्रतिनिधिसभामा २७५ जना सदस्य संख्या हुने प्रावधान छ । विश्वासको मत लिन बहुमत (आधाभन्दा धेरै) चाहिन्छ । यो आवश्यक संख्या १३८ हुन आउँछ । यसर्थ, प्रधानमन्त्रीका लागि जुटेको १५० बढी सिट आवश्यक स्पष्ट बहुमत हो ।

प्रतिनिधिसभामा यसअघिको गठबन्धनबाट बाहिरिएको नेपाली कांग्रेससँग सबैभन्दा धेरै ८७ सिट छन् । यस्तै जनमत पार्टीसँग ७ र लोसपाको ४ मत छ । कांग्रेससँगै यी दल विपक्षमा देखिएका छन् । १४ मत भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कतै खुलिसकेका छैनन् ।

नयाँ समीकरण बनाउँदा प्रधानमन्त्रीलाई १४२ सांसदको मात्रै समर्थन थियो । मुस्किलको बहुमत पुग्ने र जहिले पनि सरकार ढल्नसक्ने जोखिमलाई मध्यनजर गर्दै नयाँ सत्ता गठबन्धनमा आबद्ध दलले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराएका छन् । उनी थपिएपछि प्रधानमन्त्रीलाई १५२ सिट पुग्ने पक्का भएको हो ।

यसअघि एकीकृत समाजवादी ४ दलबीच भएको ८ बुँदे सहमतिमा छुटेका थिए । समाजवादी सहमति गर्दा छुटे पनि उसले मन्त्रिपरिषद् विस्तार हुँदा २ जना मन्त्रीलाई शपथमा पठाएको थियो । तर सोमवार एकीकृत समाजवादीले आफूहरूका मागमा विषयमा लिखित सहमति भएमात्रै राष्ट्रियसभाका अध्यक्षसँगै विश्वासको मत पनि दिने अडान राखेको थियो ।

यसैले मंगलवार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच बालुवाटारमा वार्ता भएको थियो । यो वार्तापछि प्रमुख ५ दलले फेरि ७ बुँदे सहमति गरेका छन् । सो सहमतिमा सरकार सहमतिको आधारमा चलाउने, नयाँ दललाई गठबन्धनमा सहभागी गराउनेसहितका बुँदा थिए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफूलाई पनि प्रधानमन्त्री बनाउनुपर्ने अडान राखेपछि यस विषयमा पनि प्रचण्ड र ओली नरम रहेको दाबी नेताहरूले गरेका छन् । लिखित सहमति नभए पनि ओली, प्रचण्ड र नेपालबीच प्रधानमन्त्रीमा आलोपालो गर्ने, प्रदेशमा मुख्यमन्त्रीमा भागबण्डा गर्नेसहितको समझदारी भएको बुझिएको छ ।

यसैबीच एमाले ओलीले ढुक्क भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टीका सांसदहरूले निर्देशन दिएका छन् । अनुचित गठबन्धन छोडेर आएकाले प्रधानमन्त्रीलाई खुला हृदयले विश्वासको मत दिन निर्देशन दिएका हुन् ।

‘बुधवार संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम छ । पहिले–पहिलेका कुरामा प्रधानमन्त्रीले गल्ती गरेको हुनसक्छ । अहिले एकदम राम्रो छ, अनुचित गठबन्धन छाडेर उचित बनाउन पहल कदमी लिनुभयो । एक–डेढ वर्ष पद सुरक्षित हुँदाहुँदै पनि देश अप्ठ्यारोमा पर्‍यो भनेर प्रधानमन्त्रीजीले अहिले चालेका कदम सकारात्मक छ’, ओलीले भने, ‘देशभक्त गठबन्धन नयाँ समीकरण बनाउने पहल स्वागत योग्य कुरा हो । उहाँले आफूमाथि विश्वासको मत माग्नु हुनेछ, हामी समर्थन गर्छौं ।’

यसअघि पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले सोही महिनाको २६ पुसमा २७० सांसदमध्ये २६८ जनाको समर्थन पाएका थिए । आफूसँगको समीकरणमा तोडिए पनि कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको थियो । तर, कांग्रेस राष्ट्रपतिको निर्वाचनदेखि समीकरणमा भित्रिने भएपछि एमाले सरकारबाट बाहिरिन पुग्यो । यसैले प्रचण्डले फेरि पुनः विश्वासको मत लिएका थिए ।

दोस्रोपटक चैत ६ गते भने उनले १७२ मात्रै सांसदको समर्थन पाएका थिए । विपक्षमा एमालेसहितको ८९ मत परेको थियो ।

तेस्रोपटक विश्वासको मत लिँदा प्रचण्डले पाउने मत झन् घट्ने देखिएको छ । आफूलाई अकस्मात धोका दिएको भन्दै कांग्रेसले यसपटक प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा भोट हाल्न सांसदहरूलाई निर्देशन दिइसकेको छ ।