एमालेले ताेक्याे ६ प्रदेशका इन्चार्ज:एमाले नेताहरूको जिम्मेवारी हेरफेर, संसदीय मामिला प्रमुखमा पृथ्वीसुब्बा

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले छ प्रदेशका इन्चार्जहरू तोकेको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले छ प्रदेशका इन्चार्जहरू ताेकेकाे हाे ।

बैठकले सुदूरपश्चिम प्रदेशका इन्चार्जको रूपमा छविलाल विश्वकर्मा, कर्णाली प्रदेशको इन्चार्जको रूपमा लेखराज भट्ट, लुम्बिनी प्रदेशको इन्चार्जको रूपमा पद्मा अर्याल, गण्डकी प्रदेशको इन्चार्जको रूपमा गोकर्ण विष्ट, मधेस प्रदेशकाे इन्चार्जको रूपमा योगेशकुमार भट्टराई र कोशी प्रदेश इन्चार्जको रूपमा रघुवीर महासेठलाई जिम्मेवारी दिएको हो । बाग्मती प्रदेशकाे भने केन्द्रीय कार्यालयले नै विशेष कामकाे संयाेजन गर्ने एमालेले जनाएकाे छ ।

त्यस्तै बैठकले पार्टीको केन्द्रीय सङ्गठन विभागको प्रमुखको रूपमा काशिनाथ अधिकारीलाई जिम्मेवारी दिएकाे र प्रचार तथा प्रकाशन विभागको संयोजकको रूपमा राजेन्द्र गौतमलाई जिम्मेवारी दिएको पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।

बैठकले योजना र नीतिसँग जोडिएको विभागको नेतृत्व ईश्वर पोखरेल, पूर्वाधार निर्माण र विकाससँग जोडिएको विभागको नेतृत्व सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम रामबहादुर थापा, सामाजिक विकाससँग सम्बन्धित अष्टलक्ष्मी शाक्य, मानव स्राेतसँग सम्बन्धित विभाग युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसँग जोडिएको विभाग सुवासचन्द्र नेम्वाङ र सङ्गठन प्रशिक्षणसँग जोडिएको विभागको नेतृत्व विष्णुप्रसद पौडेलले गर्ने जिम्मेवारी ताेकेकाे छ ।

एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरेफेर गर्दै सचिवहरूलाई प्रदेश इन्चार्ज र उपाध्यक्षहरूलाई विभागीय प्रमुखकाे जिम्मेवारी दिएको हाे ।

नेकपा एमालेले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई संसदीय मामिला विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

नेताहरूको कार्य विभाजन हेरफेर गर्ने क्रममा उपमहासचिव गुरुङलाई प्रचार विभाग प्रमुखबाट हटाएर संसदीय मामिलाको जिम्मेवारी दिइएको छ ।

प्रचार प्रभाग प्रमुखको जिम्मेवारी राजेन्द्र गौतमलाई दिएको छ। यसअघि सङ्गठन विभाग प्रमुख रहेका खगराज अधिकारीको पनि जिम्मेवारी फेरिएको छ।

अधिकारीलाई सहरी विकास विभाग दिएर सङ्गठन विभाग प्रमुखमा काशीनाथ अधिकारी ल्याइएको छ ।

शुक्रबारको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गर्दा सबै उपाध्यक्ष र सचिवहरूको जिम्मेवारी फेरिएको छ। त्यसबाहेक अरु पदाधिकारीको भने जिम्मेवारी यथावत राखिएको छ ।

स्थायी कमिटी र पोलिटब्यूरो सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ भने केन्द्रीय सदस्यहरूलाई पालिकाको जिम्मेवारी दिइएको छ ।