images

फेरि बढ्दैछ डेंगुको डर : पाँच महिनामा ६८ जिल्लामा फैलिसक्यो, सबैभन्दा धेरै संक्रमण काठमाडौँमा

काठमाडौँ : यो वर्ष पनि काठमाडौँमा डेंगु संक्रमण व्यापक रूपमा फैलिने जोखिम देखिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को विवरण अनुसार सन् २०२४ का पाँच महिनामा ६८ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ भने यो अवधिमा सबैभन्दा धेरै संक्रमण काठमाडौँ जिल्लामा देखिएको छ। इडिसिडीको विवरणअनुसार हालसम्म काठमाडौंमा ९९, झापामा ९८, चितवनमा ७३, मकवानपुरमा ५६ जना संक्रमित भेटिएका छन्। यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ।

इडिसिडीका अनुसार हालसम्म यो वर्षमा  जुनसम्ममा १ हजार ४८ जनामा डेंगुकाविरामी भेटिएका छन् तर हालसम्म यो वर्ष डेंगु संक्रमणबाट कुनै पनि विरामीको मृत्यु भएको छैन।

यसैगरी अहिलेसम्म मुगु, मुस्ताङ, जाजरकोट, डोल्पा, जुम्ला, बैतडी, सिरहा र सर्लाहीमा भने यो वर्ष हालसम्म डेंगु नदेखिएको ईडीसीडीले जनाएको छ।

सन् २०२३ मा नेपालमा ५२ हजार ७०० जनामा डेंगी पुष्टि भएको थियो। डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको थियो।

विशेषगरी तापक्रम बढ्दै गएपछि डेंगु सार्ने एडिज लामखुट्टेको सङ्ख्या बढेमा डेंगु संक्रमण बढ्ने गर्छ। यो लामखुट्टे सफा पानी र १८ डिग्रीभन्दा बढी तापक्रममा सक्रिय हुन्छ। तापक्रम बढ्दै जाने र वर्षात पनि हुन थालेपछि झन् यस्ता लामखुट्टे फैलिने हुँदा डेंगुको जोखिम झन् बढ्दै जाने हुँदा सतर्कता अपनाउनुपर्ने विज्ञहरूले बताउन थालेका छन्।

पछिल्ला वर्ष जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा एडिज लामखुट्टे सबै मौसममा बाँच्न र फैलन अनुकूल वातावरण बन्दै जाँदा वर्षाको समयमा देखिने डेंगु संक्रमण वर्षैभरि देखिन थालेको छ।