images

बैंक तथा वित्तीय प्रणालीमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले ५० अर्ब तान्दै

काठमाडौं– बैंक तथा वित्तीय प्रणालीमा पैसा धेरै थुप्रिएपछि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तान्न लागेको छ। तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम तान्न लागेको हो।

निक्षेप संकलन खरिदका लागि बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ। घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्। यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ।

अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा तान्न लागिएको राष्ट्र बैंकले जनाएको छ। हालको व्यवस्था अनुसार अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनु पर्छ। यो प्रक्रियालाई ब्याजदर करिडोर भनिन्छ।

ब्याजदरमा अस्वभाविक परिवर्तन नहोस र स्थायित्व कायम होस् भन्नका लागि राष्ट्र बैंकले ब्याजदर करिडोर कार्यान्वयनमा ल्याएको हो। यसैगरी, वित्तीय प्रणालीमा पैसा धेरै भएकै कारण ब्याजदर निकै तल नझरोस् भन्नकै लागि राष्ट्र बैंकले हरेक दिनजसो बजारबाट पैसा तानिरहेको छ।

सोमबारसम्ममा निक्षेप संकलन उपकरण मार्फत ९० अर्ब र स्थायी निक्षेप सुविधामार्फत १ खर्ब २९ अर्ब ७० करोड तरलता तानेको छ। सोमबारको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६३ खर्ब ४५ अर्ब पुग्दा कर्जा लगानी ५१ खर्ब ५१ अर्ब पुगेको छ। औसत कर्जा निक्षेप अनुपात करिब ७९ प्रतिशतमा झरेको छ।