images

यस्ताे छ बाढी/पहिराे प्रभावित क्षेत्रहरूको पछिल्लो अवस्था [पछिल्लो रिपाेर्टिङ]

नवलपुर (नवलपरासी)- निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ ।

नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको जानकारी दिनुभयो । “वर्षातमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज बनाउनेतर्फ हामीले ध्यान दिएका छौँ” उहाँले भन्नुभयो, “निर्माण कम्पनीले आफ्नो जनशक्ति र उपकरण सडक अवरुद्ध भएको ठाउँमा यातायात सहज बनाउन लगाएको छ ।” सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उहाँले बताउनुभयो ।

टीकापुर (कैलाली)- लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ ।

कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ । स्थानीय कृष्ण धमालाका अनुसार भजनीमा केही परिवार रातभरि बस्ती छोडेर सडकमा सरेका छन् । नदी तथा खोलामा पानी बढेपछि राति बस्तीमा रहेका मानिसहरु बालबच्चा र बस्तुभाउसहित हुलाकी सडकमा बसेका हुन् । बाढीले भजनीका सबैजसो वडामा डुबान भएको छ । वडा नं ८ का सबै घर डुबानमा परेका छन् । बाढीका कारण विशेष गरी कैलालीको दक्षिण तथा पूर्वी क्षेत्र जलमग्न भएको छ । चुरेबाट बग्ने खोला र कर्णाली नदीमा पानीको सहत बढेपछि कैलालीको टीकापुर, भजनी, जानकी र जोशीपुरका तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन् ।

टीकापुर नगरपालिकामा केही परिवार विस्थापित भएका छन् । विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले पथरैया नदीमा आएको बाढीले वडा नम्बर ६ का पर्सेनी, भर्तापुर, भगवानपुरका ६५ घर डुबानमा परेकाले ती घरका मानिसलाई उद्धार गरी उच्च घरमा सारिएको जानकारी दिनुभयो । कर्णाली नदीमा पानीको सहत बढेमा टीकापुरका वडा नं २, ५, ७ र ८ डुबानको जोखिममा पर्दछन् । त्यस्तै जोशीपुर गाउँपालिकामा पनि लगातारको वर्षापछि जलमग्न भएको छ ।

दोधारा चाँदनी (कञ्चनपुर)- लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू–भागलाई प्रभावित बनाएको छ । महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन् । जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन् । त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेकोे छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जिल्लाभर बाढीबाट प्रभावित एक हजार छ सय २२ जना को उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो । “बाढीले जिल्लाका अधिकांश बस्ती डुबानमा परेका छन्” उहाँले भन्नुभयो, “डुबानबाट प्रभावितलाई नजिकै विद्यालय र आफन्तकोमा सारिएको छ ।” त्यसैगरी उहाँले बाढीमा परी कृष्णपुर नगरपालिकाको वडा–१ पोतीपुरमा सात महिनाका शिशु सोलु धानुकको मृत्यु भएको बताउनुभयो । प्रवक्ता जोशीले  भन्नुभयो, “घरमा सुतेको अवस्थामा बाढी पसेपछि डुबेर शिशुको मृत्यु भएको छ ।” निरन्तर वर्षा भइरहेका कारण अझै केही परिवार विस्थापित हुने अवस्थामा पुगेका जनाइएको छ ।

खोटाङ- अविरल वर्षाले जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । वर्षासँगै आएको भलबाढी तथा पहिरोका कच्ची अवस्थामा रहेका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन् ।

ग्रामीण सडक अवरुद्ध भएपछि जिल्लाका स्थानीय तहहरु राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएका छन् । स्थानीय तहसँग जोडिएको सबै ग्रामीण सडक अहिलेसम्म कच्ची अवस्थामा रहेकाले समस्या भएको यातायात व्यवसायीले बताएका छन् । जन्तेढुङ्गा, बाराहापोखरी र खोटेहाङ गाउँपालिकाको कच्ची सडक हिलाम्य भएपछि सञ्चालन हुन सकेको छैन । केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकालगायतका ग्रामीण क्षेत्रमा पनि झरीले बाटो हिलाम्य हुँदा यातायात सञ्चालन हुन नसकेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङको जानकारी दिनुभयो । यसबाहेक सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक पनि अवरुद्ध छ । यसले जिल्लाबाट तराई जान र तराईबाट जिल्ला आउन समस्या भएको छ । जिल्लाका केही ठाउँमा पहिरो तथा रुखले ग्रामीण सडक अवरुद्ध गरे पनि स्थानीय र प्रहरीले खुुलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अवरुद्ध ग्रामीण सडक खुलाउने विषयमा स्थानीय तहहरुले पहल नगरेको यातायात व्यवसायीले आरोप लगाएका छन् ।

राजधानी काठमाडौँ जोड्ने मध्यपहाडी लोममार्ग भने निरन्तर सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा झरेको पहिरो प्रभावित बनाएको छ ।  बाढी तथा पहिरोबाट जोगिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरिरहेका छन् । प्रहरीले गरेको सर्वेक्षणअनुसार दश स्थानीय तह रहेको जिल्लामा मनसुनजन्य विपद् बाढीबाट ८५ घरधुरीको तीन २० र पहिरोबाट चार सय ३९ घरधुरीको एक हजार सात सय ६१ जना मानिस उच्च जोखिममा रहेका छन् ।

तनहुँ- पृथ्वीराजमार्ग अन्तर्गत दमाैली-खैरेनीटार खण्ड अवरुद्ध भएकाे छ । शुक्रबार रातिदेखि परेकाे अबिरल वर्षाका कारण सेरामा पुल भासिँदा सडक अवरुद्ध भएकाे प्रहरीले जनाएकाे छ । सडक अवरुद्ध हुँदा यस खण्ड हुँदै यात्रा गर्ने सयौं यात्रुहरू अलपत्र परेका छन् । उक्त स्थानमा हियु पाइप राखेर सडक सञ्चालन गर्ने प्रयास भइरहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । 

बागलुङ- लगातारको झरी र वर्षातले कालीगण्डकी करिडोरसहित दर्जन सडक अवरुद्ध भएका छन् । सातादेखि परेको पानीद्ये कालीगण्डकी करिडोरको विभिन्न स्थानमा पहिरो खसेर यातायात अवरुद्ध भएको हो ।

बागलुङ नगरपालिका-१०को एक्लेसालमा पहिरो खस्दा करिडोर ठप्पै भएको हो । तत्काल खुलाउन समेत नसक्ने गरी पहिरो चलिरहेको छ । यो पहिरोले मालढुंगा कुश्मीसेरा सडकको दुइवटा घुम्ती समेत बगेको छ । चारवर्षदेखि यो पहिरोले यात्रीलाई दुःख भएको छ । सडक ठप्प हुँदा दक्षिण बागलुङको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकातर्फ सडक बन्द भएको हो । सडक रोकिँदा किसानको दूध, तरकारी लगायतको ढुवानी पनि ठप्पै भएको छ । करिडोर रोकिँदा लामो यात्रा गर्नेपनि अलपत्र छन् । करिडोरमा त दर्जनबढी पहिरो छन् । जैमिनी नगरपालिका वडा नं ५, ६ र ७ मा पनि पहिरो खसेपछि यातायात रोकिएको हो । उता गुल्मी सिमानाको बरालबा भन्ने स्थानमा पनि पहिरोले सडक ठप्पै भएको हो । ती सडक खुलाउने प्रयास भएपनि निरन्तरको झरीले असम्भव भएको छ। रासस