images

यसरी हुँदैछ कांग्रेस एमालेबीच मन्त्रालय बाँडफाँट

काठमाडौं – आइतवार नयाँ सरकार गठनको गृहकार्यमा जुटेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय बाँडफाँटको मोडालिटी टुंग्याएका छन् । कुन दलले कुन मन्त्रालय पाउने भन्ने पनि लगभग टुंगिसकेको बताइएको छ ।

प्रधानमन्त्री नियुक्तिपछि केपी शर्मा ओलीले भोलि साँझ सपथग्रहण गरेसँगै मन्त्रीहरुको पनि सपथग्रहण गर्ने गृहकार्य छ । केही साना दलका लागि समेत मन्त्रालय राखेर कांग्रेस र एमालेले समान हैसियतमा बाँडफाँट गर्ने सहमति भएको छ । शेरबहादुर देउवा र ओली बसेर मन्त्रालय बाँडफाँट तथा आ- आफ्ना पार्टीका मन्त्रीको नाम समेत तय गरिसकेका छन् ।

मन्त्रालयका सामर्थ्य र प्रभावका आधारमा दुई दुई वटाको बास्केट बनाएर त्यसबाट एक एक छान्ने मोडालिटी बनाइएको छ । उदाहरणका लागि गृह मन्त्रालय कांग्रेसले पाए अर्थ मन्त्रालय एमालेको भागमा पर्नेछ । २० वटा मन्त्रालयलाई प्रभाव,सामर्थ्थ र स्रोत साधनका आधारमा दुई दुई वटामा विभाजित गरेर एक एक बाँड्ने तयारी छ ।

हाल संघीय सरकारमा २१ वटा मन्त्रालय रहेका छन्। संविधानले प्रधानमन्त्रीसहित बढीमा २५ जना सम्मको मात्रै मन्त्रिपरिषद् हुने निश्चित गरेको छ। नयाँ सरकारमा प्रधानमन्त्री, २१ जना मन्त्री र तीन राज्यमन्त्री रहने निश्चित छ। हालसम्म एमालेले अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्रालय लिने तथा कांग्रेसले गृह र परराष्ट्र लिने निश्चित भइसकेको छ। एमालेले रक्षा, कानुन, स्वास्थ्य, भौतिक मन्त्रालयमा पनि दाबी गरेको छ। भौतिकमा कांग्रेसको पनि दाबी छ। भौतिक पूर्वाधार एमालेले लिने र शहरी विकास मन्त्रालय कांग्रेसले लिने धेरै सम्भावना छ। ‘भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, ऊर्जा र श्रम मन्त्रालय हाम्रो प्राथमिकतामा छ।

एमाले नेताहरू भने शक्ति बाडँफाँटबारे भावी प्रधानमन्त्री नै निर्णायक रहने बताउँछन्। ‘केपी ओली नै प्रधानमन्त्री हुने भनिसकेपछि कुन मन्त्रालय आफूले राख्ने कुन कांग्रेसलाई दिने भन्नेमा उहाँले नै चासो राखिहाल्नु हुन्छ’, एमालेका एक नेताले भने। उनका अनुसार मन्त्रालय बाँडफाँटमा खासै ठूलो विवाद हुने देखिँदैन। ‘दुईवटा पार्टीले २१ वटा मन्त्रालय भाग लगाउने भएकाले खासै विवाद नहोला। प्रधानमन्त्रीसँग प्रत्यक्ष नजोडिएका मन्त्रालय एमालेले राख्छ। उस्तै प्रकृतिको महत्व बोकेका मन्त्रालयहरू बाडिन्छ’, ती नेताको भनाइ छ।

 एमालेबाट अर्थमन्त्री विष्णु पौडेलको चर्चा छ। यद्यपि, उपप्रधानमन्त्री नराखिने अवस्थामा पौडेल नबनेर योगेश भट्टराई वा पदम गिरी अर्थमन्त्री बन्न सक्ने छन्। कांग्रेसबाट परराष्ट्रमन्त्रीमा डा.आरजू देउवाको सम्भावना बढी छ। गृहमन्त्रीमा रमेश लेखकको चर्चा बढी भए पनि सहमहामन्त्री किशोरसिंह राठौरले आफूलाई गृहमन्त्री बनाउन सभापति देउवासँग माग गरेका छन्। देउवाका प्रिय मानिने राठौर मन्त्री बन्ने पक्का भए पनि गृह वा शहरी विकासमध्ये कुन हुने निक्र्योल भइसकेको छैन। कांग्रेसभित्र विगतमा मन्त्री भइसकेकादेखि पहिलोपटक सांसद भएका नेताहरूसमेत मन्त्रीका आकांक्षी छन्। एमालेबाट अधिकांश नयाँ र युवा अनुहारले मन्त्री बन्ने अवसर पाउने एमाले नेताहरूको दाबी छ।