ओलम्पिक सहभागिताको ६० वर्ष, पदकभन्दा सहभागितामै गर्व

काठमाडौं- ४८ औं संस्करणको ओलम्पिक खेलकुद शुक्रबारदेखि फ्रान्सको राजधानी पेरिसमा सुरु हुँदैछ। यो प्रतियोगितामा नेपालका ७ खेलाडीले सहभागिता जनाउँदै छन्। विगतमा जस्तै यो पटक पनि नेपाल सहभागितामै उत्साही छ तर पदक जित्ने न तयारी छ न संकल्प। सहभागिताको निरन्तरताका रूपमा पेरिस ओलम्पिक रहने छ।

ओलम्पिकमा सहभागिताको ६ दशक पुरा गर्दापनि एउटा पदक जित्न नसकेको तीतो यथार्थ नेपालसँग रहँदा ओलम्पिकमा पदक जित्ने गरी तयारी न सरकारले गरेको छ न त मातहतका निकायले। उनीहरू सहभागितामा आफ्नो उपस्थितिलाई नै गर्वका रूपमा लिने गरेका छ्न्।

तर नेपालको सहभागिता इतिहासमा भन्दा वर्तमानमा खस्किँदाे छ। यद्यपि छनोट चरण पार गरेर ओलम्पिक सम्म पुग्ने खेलाडीहरूको नगन्य उपस्थितिबीच यो पटक पनि केही खेलाडीसँग भने राम्रो प्रदर्शनको अपेक्षा राखिएको छ। तर नेपालले ओलम्पिक पदक कहिले जित्ला यसको जवाफ कसैसँग छैन।

नेपालले पहिलो पटक १९६४ मा जापानको टोकियो ओलम्पिकमा सहभागिता जनाएको थियो। दुई खेलका ६ खेलाडीले पहिलो पटक सहभागिता जनाएको ६० वर्ष बितिसकेको छ। तर नेपाल अहिले ७ खेलाडी पठाउने दयनीय अवस्थामा छ। यो ६० वर्षमा हामिले प्रतिस्पर्धामा जहाँको त्यहीं नै आफूलाई सीमित गर्दा विश्वका अन्य देशले ठुलो फड्को मारेका छन्।

ओलम्पिक छनोट चरण पार गर्न नसक्दा नेपालले उच्च सहभागिता जनाउन असमर्थ भएको छ। नेपाल अहिले पनि ओलम्पिकको सहभागिता उसले विश्वभरका देश यो खेलकुदको महाकुम्भमा नछुटुन भनेर आमन्त्रण गर्ने कोटा अर्थात ‘वाइल्ड कार्ड’ मार्फत पुग्ने गरेकाे छ। यद्यपि यो पटक टेबल टेनिसका स्यान्टु श्रेष्ठ छनोट चरण पार गरेर पेरिस पुग्ने तेस्रो नेपाली खेलाडी बनेका छन्।

पछिल्लो पटक बेइजिङ २००८ मा तेक्वान्दोका दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएका थिए। त्यसअघि २००४ ग्रिसमा तेक्वान्दोकी संगीना वैद्यले छनोट भएर सहभागिता जनाएकी थिइन्। यी दुईबाहेक छनोट खेलेर ओलम्पिक पुग्ने तेस्रो खेलाडी स्यान्टु नै हुन्। नेपालमै भएको छनोटमा उनले आफ्नो स्थान सुरक्षित गर्दै इतिहास रचेका छन्। उनले पेरिस ओलम्पकिको प्रारम्भिक चरणमा सेनेगलका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छन्।

नेपालको ओलम्पिक यात्रामा मात्र सीमित हुँदा ओलम्पियन जितबहादुर केसी राज्यले दीर्घकालीन योजना नबनाइ ओलम्पिक पदक जित्ने सम्भावना थप कमजोर हुँदै जाने बताउँछन्।

उनी भन्छन्, ‘अब झनै प्रतिस्पर्धाहरू बढेका छन्। विश्वमा प्रविधिमैत्री सिकाइहरू बढ्दै जाँदा नेपाल परम्परागत तरिकाले नै सहभागिता जनाइरहेको छ। यसले पदक जित्ने सम्भावना झनै कमजोर बनिरहेको छ। अब पदक जित्नका लागि पदक जित्ने सम्भावनाका भएका केही खेल र खेलाडीहरुलाई दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु बाहेकको विकल्प छैन।’