images

राष्ट्रियसभाः विपद्जन्य घटनामा उद्धार र राहतको प्रभावकारी व्यवस्था गर्नुपर्नेमा जोड

काठमाडौँ, २१ साउन – राष्ट्रियसभाको बैठकमा सांसदहरुले बाढी, पहिरो, डुबान, बस दुर्घटना, हवाई दुर्घटनालगाय प्राकृतिक विपद्मा परेका पीडित नागरिकलाई तत्काल उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसमक्ष माग गर्नुभएको छ ।

आजको बैठकको विशेष समयमा बोल्दै सांसद जगप्रसाद शर्माले वर्षातको समयमा आएको बाढी, पहिरो डुबानका साथै बस तथा हवाई दुर्घटनालगायत प्राकृतिक विपद्जन्य घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदन प्रकटन गर्दै ती घटनामा आवश्यक उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शर्माले स्थिर सरकार, संविधानको संशोधन र समृद्धिको नाराका साथ अगाडि बढेको वर्तमान सरकारको कार्यकाल सफलताको शुभकामनासमेत व्यक्त गर्नुभयो । उहाँले संविधान संशोधन गरेर प्रभावकारी कार्यान्वयन गर्ने विषय स्वागतयोग्य रहेको भन्दै संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका परिवर्तनकारी शक्तिको भावनालाई पनि समटेर संशोधन गरिनुपर्नेमा जोड दिनुभयो ।

सांसद कृष्णबहादुर रोकायले मनसुनजन्य विपद्का घटना न्यूनीकरण गर्न सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गरी विपद्का न्यूनीकरणसम्बन्धी प्रभावकारी योजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने खाँचो औँल्याउनुभयो ।

सांसद रोकायले जागरकोट भूकम्पका पीडित नागरिक मनुसुनजन्य विपद्का कारण थप पीडामा परेका, गत असार ३१ गते राति परेको अविरल वर्षाका कारण रुकुमपश्चिमका झिनचौर, खोला, तातोपानी खोला र डावाखेत खोलामा आएको बाढीले ठूलो धनजनको क्षति भएको भन्दै पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गर्नुभयो । उक्त घटनामा बेपत्ता डिल्लिबहादुर बुढाथोकीको अवस्था हालसम्म अज्ञात रहेको भन्दै सोही घटनामा धनिषा पुन, हितमाया पुन र मनिषा सार्कीको मृत्यु भएको सांसद रोकायले जानकारी दिनुभयो । जिल्लाका अन्य भेगमा भएको विपद्जन्य घटनाका पीडितलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन उहाँले सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद घनश्याम रिजालले हालै सौर्य एयरलाइन्सको विमान दुर्घटना, त्रिशुली नदिमा दुई बस बेपत्ता भएको घटनासहित देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्जन्य घटनामा ठूलो जनधनको क्षति भएको भन्दै विपद्जन्य घटना न्यूनीकरण गर्न सरकारले योजनाबद्ध पहल थाल्नुपर्नेमा जोड दिनुभयो ।

सांसद रिजालले विभिन्न घटनामा मृत्युभएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभयो । उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रिजालले संविधान संशोधनको क्रममा संविधानमा रहेका समानुपातिक र समवोशी प्रणालीलाई निरन्तरता दिन आग्रह गर्नुभयो । सांसद कमला पन्तले प्राकृतिक विपत्तिका घटनाले मुलुक आक्रान्त बनेको र जनजीवन अस्तव्यस्त भएको भन्दै यसप्रति सरकार संवेदनशील बन्नुपर्ने बताउनुभयो । उहाँले संविधानमा व्यवस्था भएको संशोधनको प्रक्रिया अगाडि बढ्नु सकारात्मक रहेको, विभिन्न वर्ग, क्षेत्र र समुदायबाट संविधान समयसापेक्ष संशोधन गर्न माग आइरहेको सन्दर्भमा वृहत छलफल र बहससहित यसलाई सकारात्मक निष्कर्षमा पु¥याइनुपर्नेमा जोड दिनुभयो ।

सांसद पन्तले संविधान संशोधन गर्दा संविधानमा व्यवस्था भएको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक जाती र लिङ्गको सुनुश्चित हुनुपर्ने, स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा हुनुपर्ने, प्रदेशसभाको निर्वाचन पहिलो हुने निर्वाचित हुने प्रणाली अनुरुप हुनुपर्ने तथा सङ्घीय प्रतिनिधिसभाको निर्वाचन पूर्णसमानुपातिक निर्वाचन प्रणाली अनुरुप हुनुपर्नेलगायत विषयलाई समेट्न माग गर्नुभयो ।

सांसद पन्तले राष्ट्रियसभालाई प्राज्ञिकसभाको रुपमा स्थापित गरी, एक व्यक्ति कतिपटक प्रधानमन्त्री र मुख्यमन्त्री हुने, मन्त्री तीनपटक र सांसद चार पटक हुने व्यवस्था गर्न पनि माग गर्नुभयो ।

सांसद सुमित्रा विसीले प्राकृतिक विपत्तिका घटनामा ठूलो धनजनको क्षति भएको भन्दै विपद् न्यूनीकरणमा सबै एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदन प्रकटन गर्नुभयो । उहाँले स्वास्थ्यकर्मीको समस्या समाधान गर्न नीतिगत सुधार जरुरी रहेको बताउनुभयो ।