images

बर्दिबासमा वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा कोष सम्बन्धि अभिमुखिकरण सम्पन्न

महोत्तरी, साउन २३ – वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा कोष सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ। सामाजिक सुरक्षा कोष काठमाडौको आयोजनामा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा कोषका सहायक निर्देशक राधिका निरौलाले सामाजिक सुरक्षा कोषका विभिन्न योजनाबारे जानकारी गराएका थिए। उनले देशभरका ४० वटा भन्दा बढी स्थानीय तहले कोषसँग समझदारी गरेर काम अघि बढाइसकेको जानकारी दिए।

श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यले २०७४ मा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन आएको र सो ऐन कार्यान्वयनमा आएसँगै सामाजिक सुरक्षा कोष स्थापना भएको हो ।

सहभागीहरुलाई सामाजिक सुरक्षा कोषको बारेमा जानकारी गराउँदै सहायक निर्देशक निरौलाले कोषले सञ्चालन गर्दै आएको कार्यक्रममा दुर्घटना तथा अशक्तता सुविधा, औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्ध अवस्था सुरक्षा समावेश गरिएको र यसले स्वास्थ्य बिमा, दुर्घटना बिमा र अवकाशपछिको निवृत्तिभरणका लागि काम गर्ने बताएका थिए।

उनले यो कार्यक्रममा श्रमिकको तर्फबाट ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशतसमेत गरी आधारभूत तलबको ३१ प्रतिशत रकम कट्टी गरि सो रकममध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षाका लागि १.४० प्रतिशत, आश्रित परिवार सुरक्षाका लागि ०.२७ प्रतिशत तथा वृद्ध अवस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत रकम छुट्याउने व्यवस्था गरिएको जानकारी दिए।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाका लागि १ प्रतिशत रकमले वार्षिक अधिकतम १ लाख रुपियाँसम्मको औषधि उपचार सुविधा पाउने व्यवस्था गरिएको छ भने मातृत्व कोषका अनुसार सम्झौताबमोजिम कृषि, निर्माण, यातायात र घरेलु श्रमिकसहित स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिक १० हजार आठ सय २० को ११ प्रतिशत हुन आउने रु एक हजार एक सय ९० मासिक रूपमा योगदान गर्नुपर्छ। यसमा स्थानीय तहले उक्त रकमको ९.३७ प्रतिशत अर्थात् रु. एक हजार १३ को योगदान गर्नेछन्।

यसबाट विभिन्न योजनामा श्रमिकले सुविधा पाउनेछन्। औषधाेपचार, स्वास्थ्य र सुरक्षित मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले सुविधा पाउनेछन्। त्यस्तै सुरक्षा अन्तर्गत योगदानकर्ता पुरुष भए श्रीमती तथा महिला भए आफैं सुत्केरी भएपछि एक महिनाको आधारभूत तलब दिने व्यवस्था गरिएको छ ।

तर औषधि उपचारका लागि १ लाख रुपियाँसम्म दिँदा कम्तीमा २० प्रतिशत योदानकर्ता आफैंले व्यहोर्दा मात्रै बाँकी ८० प्रतिशत मात्रै कोषले व्यहोर्नेछ । त्यस्तै दुर्घटना तथा अशक्तता सुरक्षाअन्तर्गत १.४० प्रतिशत योगदानले ७ लाखसम्मको दुर्घटना उपचार बिमा प्रदान गरिने व्यवस्था गरिएको छ भने अशक्त भएको अवस्थामा आधारभूत तलबको ६० प्रतिशतसम्म रकम मासिक रूपमा दिने व्यवस्था गरिएको छ ।

त्यस्तै, आश्रित परिवार सुरक्षाका लागि ०.२७ प्रतिशत योगदानले योगदानकर्ताको मृत्यु भएमा श्रीमतीलाई अर्को विवाह नगरेसम्म र रोजगारी नभएसम्मका लागि र छोरोछारी भए उनीहरुको शैक्षिकवृत्तिका लागि आधारभूत तलबको ४० प्रतिशत दिने व्यवस्था गरिएको छ ।

तर दुई वा सोभन्दा बढी सन्तान भएको अवस्थामा भने ६० प्रतिशतलाई दामासाहीमा बाँड्नुपर्ने व्यवस्था गरिएको छ । उता वृद्ध अवस्था सुरक्षा योजनाका लागि छुट्याइएको २८.३३ प्रतिशत रकमले योगदानकर्ता ६० वर्ष पूरा भएपछि योगदान अनुसार पेन्सन दिने योजना बनाइएको छ ।

तर त्यस्तो रकम न्यूनतम तलबको साठी प्रतिशतभन्दा कम वा तीन गुणाभन्दा बढी नहुने भनिएको छ । अहिलेको अवस्थामा १५ हजार न्यूनतम तलब भएको अवस्थामा त्यस्तो निवृत्तिभरण रकम कम्तीमा ९ हजार रुपियाँ र बढीमा ४५ हजार रुपियाँ हुनेछ ।

तर योगदानको अवधि १५ वर्ष नपुग्दै योगदानकर्ता ६० वर्ष पुगेको अवस्थामा भने जम्मा भएको कुल योगदान रकमलाई १८० ले भाग गर्दा आउने रकम बराबरको रकम मासिक रूपमा पेन्सन पाउने व्यवस्था गरिएको छ ।

बर्दिबास नगरपालिका स्थित पवन मिथिला पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा कोषका संचारविज्ञ कामेन्द्र वर्मा, आस्था रिजाल ,कोषको जनकपुर स्थित कार्यालयका कार्यालय प्रमुख कैलाश कुमार यादव ,विभिन्न क्षेत्रमा आबद्ध ब्यक्ति तथा पत्रकारहरुको सहभागीता रहेको थियो।