मंगलबार कालीखोला नजिकै लेदो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो।
सोक्रममा जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खटाएको आर.ए.टी नाम दिइएको एउटा समूह परिचालन भएको थियो।
जाम खुलाउन सुन्तला रंगको ज्याकेटमा आर.ए.टी लेखेर वाकीटकी संचारसहितका युवाहरू खटेको भनेर सामाजिक सञ्जालमा फोटो सहितका पोष्ट आएको भन्दै प्रशासन कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ।
विजयी भएको एक सय दिन पुगेको अवसरमा केही दिनअघि रास्वपाका सभापति रहेका चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले नारायणगढ–मुग्लिन सडकमा पहिरो जाँदा उद्धार तथा व्यवस्थापनका लागि र्यापिड एक्सन टिम (आरएटी) निर्माण गर्ने घोषणा गरेका थिए।
उक्त पहिरो सुरक्षा निकाय, सडक डिभिजन कार्यालयसहितका राज्यका अंगबाट भएका स्रोत, साधन र जनशक्ति प्रयोग गरी पन्छाएको र ट्राफिक व्यवस्थापन गरिएको प्रशासन कार्यालयले स्पष्ट पारेको छ।
‘कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्योहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं,’ प्रशासन कार्यालयले भनेको छ, ‘विपद्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम छन्।’
प्रशासन कार्यालयले रास्वपाका कार्यकर्ताले प्रयोग गरेको संचारको साधन वाकीटकी स्वीकृति लिइएको र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन पनि दिएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ठूला विपद्का घटनामा कुनै दल विशेष वा संगठनको परिचय बिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीकोरुपमा राजनीतिक दल, नागरिक समाजलगायतका आम सर्वसाधारण नागरिकले जिल्ला, स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति लिएर, खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने बताए।
तर मंगलबार कुनै अमुक दल तथा सो अन्तर्गतको संगठनको सहयोग नलिइएको र लिन स्वीकृति पनि नदिइएको उनले बताए।
प्रशासनले रास्वपाका कार्यकर्ताले सञ्चारको साधन वाकिटकी समेत प्रयोग गरेको देखिएको भन्दै विज्ञप्तिमा भनेको छ, ‘उक्त संचार साधन स्वीकृति र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन गरिसकिएको व्यहोरा समेत जानकारी गराउँदै विपद्का यस्ता घटनाको राहत उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकाय लगायत राज्यका अङ्गहरू सक्षम रहेको जानकारी गराउँदछौँ ।’
प्रशासनले ठुला विपद्का घटनाहरूमा राजनीतिक दल, नागरिक समाज लगायत आम सर्वसाधारण नागरिकले कुनै दल विशेष वा सङ्गठनको परिचय बिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीको रूपमा जिल्ला तथा स्थानीय विपद व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा मात्र उद्धारमा खटिन सक्ने पनि स्पष्ट पारेको छ ।