images
images

‘वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँछौँ’: श्रम मन्त्री शरतसिंह भण्डारी

काठमाडौं , कातिक १८ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकको समृद्धिमा सबैभन्दा ठुलो भूमिका निर्वाह गर्ने रोजगारीलाई व्यवस्थित र सर्वसुलभ बनाउन ७५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई सुदृढ र चलायमान बनाउने काम अगाडि बढेको बताउनुभएको छ।

उहाँले स्वदेशी तथा वैदेशिक रोजगारीलाई सरल, सहज, सुरक्षित तथा उपलब्धिमूलक बनाउन कानुनी तथा प्राविधिक अवस्थालाई सरकारले परिमार्जन गर्न लागेको जनाउनुभयो ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वर्दीवासमा आयोजना गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रम र रोजगारी प्रवर्धन तथा एकीकृत श्रम रोजगार सेवा प्रवाहसम्बन्धी अन्तर्कियामा शनिवार बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले मधेश प्रदेशको दयनीय आर्थिक अवस्थाको चित्रण गर्दै मुलुकको आर्थिक क्रियाकलाप र विकासलाई आकलन गर्ने मापदण्ड भनेको त्यहाँको रोजगारीको अवस्था रहेको धारणा राख्नुभयो । त्यो परिस्थितिमा पनि मधेश प्रदेशको रोजगारीको सूचकाङ्क सात प्रदेशको तुलनामा कम रहेको तथ्याक प्रस्तुत गर्दै  मन्त्री भण्डारीले `सातै प्रदेशमध्ये सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने पनि मधेश प्रदेशकै रहेकाले स्थिति विडम्बनापूर्ण भएको उल्लेख गर्नुभयो´ ।

“वैदेशिक रोजगारीमा जानेमध्ये ७८ प्रतिशत युवा मधेश प्रदेशकै छन्। त्यसमध्ये पनि ९८ प्रतिशत खाडी मुलुकमा पसिना बगाउन बाध्य छन् मन्त्री भण्डारीले भन्नुभयो, “फेरि पनि वैदेशिक रोजागरीमा जानेमध्ये सबैभन्दा बढी ठगिने श्रम शोषणमा पर्ने मधेशी समुदाय नै भएकाले श्रम गरेर पनि जीवनस्तर उठन सकेनन् । यसले अनेकन विसङ्गति र विकृति देखा परे।”

यही समस्यालाई मध्यनजर गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न कदम मुलुकका ७५३ वटै पालिकामा रहेका रोजगार सेवा केन्द्र र त्यहाँ रोजगार संयोजकले थप जिम्मेवार भएर दायित्व निर्वाह गर्नुपर्ने अवस्थाबारे मन्त्री भण्डारीले जानकारी गराउनुभयो ।

यस अघि बर्दिवासका नगरप्रमुख प्रह्लाद क्षेत्रीले स्थानीय तहसम्म आइपुग्दा प्रधानमन्त्री रोजगार कार्यक्रम निष्प्रभावी भएको अनुभव सुनाउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा सेवाभन्दा पनि राजनीतिकरण बढी भएकाले यसले उद्देश्य अनुरूपको गरिव विपन्न एवं बेरोजगारभन्दा पनि आफ्ना कार्यकर्ता, नातेदार र कृपा पात्रलाई समेटेकाले यसप्रति मन्त्रालय गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमका सहसचिव एवं राष्ट्रिय कार्यक्रम निर्देशक रामचन्द्र ढकाल र रोजगार विज्ञ युवराज बस्नेतले आन्तरिक रोजगार प्रवर्धन र एकीकृत श्रम तथा रोजगार सेवा प्रवाह एवं नेपालमा वैदेशिक रोजगारीको वर्तमान अवस्था र चुनौतीबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रममा मधेश प्रदेशका १३६ स्थानीय तहका प्रमुख प्रमुख कार्यकारी अधिकृत, रोजगार संयोजक, जिल्ला सुरक्षा प्रमुख जिल्ला  तथा सञ्चारकर्मीको सहभागिता थियो।