images
images

`सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नाराका साथ एमालेलको मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रा सुरु

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तामझामका साथ बिहीबारदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रा सुरु गर्दैछ।

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नाराका साथ राजनीतिक यात्रा गर्न सबै तयारी पूरा भएको एमालेले जनाएको छ।

एमालेले बैतडीको झुलाघाटबाट पाँचथरको चियो भन्ज्याङसम्मको झण्डै १८ सय किलोमिटर लामो यात्रा सुरु गर्न लागेको हो।

बिहीबार बिहान कार्यक्रमको उद्घाटन गर्न अध्यक्ष केपी शर्मा ओलीसहितका नेता झुलाघाट नजिकै पर्ने गोठालापानी पुगिसकेका छन्। उनले आज बिहान साढे आठ बजे सभामार्फत् यात्राकाे थालनी गर्नेछन्।

संगठनलाई थप मजबुत पार्ने उद्देश्यका साथ गर्न लागिएकाे मध्यपहाडी यात्रामा २० हजारजना सहभागी हुने दाबी गरिएको छ। यात्राका क्रममा साना ठूला खालका सभा हुनेछन्।

पार्टीका शीर्ष नेताहरूले गोठालापानी, सिलगढी, मंगलसेन, दैलेख, सुर्खेत, रिम्ना, वामीटक्सार, कुस्मामा सम्बोधन गर्नेछन्। त्यस्तै, सन्दरबजार, बट्टार, कुन्तावेंसी, चरिकोट, हर्कपुर, भोजपुर, बसन्तपुर, फिदिम र च्याङ्थापु ठूला सभा आयोजना हुनेछन्।

एमालेले दैनिक एक सय किलोमिटर यात्रा गर्ने लक्ष्य राखेको छ। अभियानका क्रममा ठाउँ ठाउँमा सानाका खालका कोणसभा, भेला बैठक, पार्टी मिटिङसमेत आयोजना गरिनेछ।

यात्राका क्रममा एमालेले जनाका समस्या सुन्ने, विकास निर्माणको अवस्थाबारे जानकारी लिने, विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने योजना एमालेकाे छ।

या‍त्रा पुस १ गते सकिने छ।