images
images

शासकीय सुधारका लागि आयोग गठन हुन्छः प्रधानमन्त्री दाहाल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित रहेको बताएका छन्।

बुधबार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले समग्र शासकीय प्रणालीमा सुधार गरेर अघि बढ्ने सरकारको सोच रहेको बताएका हुन्।

प्रधानमन्त्री दाहालले शासकीय प्रणालीमा समग्र सुधारका लागि सरकारले शासकीय सुधार आयोग निर्माण गरेर अघि बढ्ने तयारी गरिरहेको पनि बताए।

उनले जनताले अनुभूति गर्ने गरी सेवा प्रवाहको कामलाई अघि बढाउनका लागि समेत मुलुकको समग्र शासकीय प्रणालीमा सुधार गर्नुको विकल्प नरहेको दोहोर्‍याए।

प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व लिने बेलामा नतिजामुखी काम गर्न मन्त्रालयका सचिवहरूलाई दिएको निर्देशनअनुसार काम हुन नसकेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे।

उनले जनतामा उत्साह आउने गरी परिणाममुखी काम गर्न पनि मातहतका सबै निकायलाई सचेतसमेत गराए।