संसदका उपसचिवले महिला अधिकृतलाई गरे हातपात

काठमाडौँ – संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले महिला शाखा अधिकृतमाथि हातपात गरेका छन्।

आफूले तयार पारेको प्रतिवेदनमा नाम छुटाएको भन्दै उपसचिव गैरेले शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरेका हुन्।

संसद सचिवालय स्रोतका अनुसार गैरेले गालामा चट्कन लगाएका हुन्।

घटनाबारे बुधबार उपसभामुख इन्दिरा रानामगरलाई पीडित कर्मचारीले जानकारी गराएकी थिइन्।

घटनालाई सामसुम पार्न बुधबार दिनभर संसदका कर्मचारीहरुले प्रयास गरेका थिए। बिहीबार उपसभामुख समक्ष उपस्थित गराएर गैरेलाई माफी मगाउने तयारी छ।