images
images

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्र पक्षमा आन्दोलन गर्ने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना लगायतका एजेन्डासहित आन्दोलन गर्न तयार पारेको प्रस्ताव पारित गरेको छ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार बसेको बैठकले मस्यौदा समितिको प्रस्ताव पारित गरेको हो।

राप्रपाले राजसंस्था, हिन्दुराष्ट्रको पुन:स्थापना, संघीयता खारेजी र सुशासन तथा जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको हो। यस प्रस्तावलाई काठमाडौँमा पुस १ गतेदेखि ३ गतेसम्म हुने केन्द्रीय समिति बैठकमा पेश गरिनेछ।

राप्रपाका अनुसार राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको र यथास्थितिमा देशअघि बढिरहन नसक्ने निश्कर्ष निकाल्दै राप्रपाले आन्दोलनको अपरिहार्यतामा जोड दिएको हो। त्यस्तै आगामी पुस २७ गते केन्द्रीय र सबै तहमा पृथ्वी जयन्ती मनाउने निर्णय पनि राप्रपाले गरेको छ।

इलाममा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा पार्टीका तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजङ्ग गुरुङलाई जिम्मेवारी दिइएको पनि राप्रपाले जानकारी दिएको छ।